आजदेखि एपोलो हाइड्रोपावरको आईपीओ खुला, सर्वसाधारणले १० कित्तादेखि आवेदन दिन सक्ने
जलसरोकार
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेड ले आज (चैत २६ गते)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, ३७ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
अब बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म खुला रहनेछ।
कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना को अनुमानित कुल लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा लगानी फिर्ता अवधि १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?