सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालको दिगो पूर्वाधार र विपद् जोखिम व्यवस्थापन सुदृढ गर्न एडीबी, विश्व बैंक र स्विट्जरल्यान्डबीच साझेदारी

जलसरोकार
बुधबार, कात्तिक १९, २०८२ | १४:४५:२८ बजे

काठमाडौं: एशियाली विकास बैंक (ADB), विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (IDA) र स्वीस विकास तथा सहकार्य निकाय (SDC) ले नेपाल सरकारलाई विपद् जोखिम न्यूनीकरण र जलवायु सहनशील पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित तीन वर्षे समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका छन्।

नेपाल हाल बाढी, सुख्खा, पहिरो, हिमनदी पग्लनजस्ता जलवायुजन्य जोखिमबाट बढ्दो चुनौतीको सामना गरिरहेको छ, जसले जनधनको ठूलो क्षति गर्नुका साथै हजारौँ समुदायलाई विस्थापित बनाएको छ। जलविद्युत् जस्ता प्रकृतिनिर्भर क्षेत्रहरू देशको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भए पनि यी जोखिमहरूबाट अत्यधिक प्रभावित भइरहेका छन्।

एडीबी नेपालका देश निर्देशक अर्नो कोश्वा (Arnaud Cauchois) का अनुसार, “जलवायु सहनशील पूर्वाधार र विपद् जोखिम व्यवस्थापनमा लगानी अहिलेभन्दा महत्वपूर्ण कहिल्यै भएको छैन। यस्ता लगानीहरूले समुदायहरूलाई सुदृढ बनाउने, महत्त्वपूर्ण सम्पत्तिहरू जोगाउने, रोजगारी सिर्जना गर्ने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रोत्साहन दिनेछन्।”

साझेदार निकायहरूले कोशी प्रदेशको दुधकोशी नदी उपत्यका (Dudh Koshi River Basin) क्षेत्रमा पर्ने पूर्वाधार तथा जलविद्युत् परियोजनाहरूलाई प्राथमिकतामा राख्दै जलवायु सहनशील लगानी अघि बढाउने योजना पनि व्यक्त गरेका छन्।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिस्लेन (David Sislen) ले भने, “नेपाल विश्वकै जलवायु आघात र प्राकृतिक विपद्को दृष्टिले सबैभन्दा संवेदनशील मुलुकहरूमध्ये एक हो। त्यसैले समुदाय, लगानी र रोजगारीलाई सुरक्षित राख्न दिगो विकासका मूल एजेन्डामा जोखिम न्यूनीकरण र तयारीका प्रयासहरू केन्द्रमा रहनुपर्छ।”

यस साझेदारीमार्फत नेपालमा बहुजोखिम मूल्याङ्कन प्रणाली (multi-hazard risk assessment) सुदृढ पार्ने, पूर्व सूचना प्रणाली (early warning system) विस्तार गर्ने, जलवायु जोखिम व्यवस्थापन र वित्तीय सेवाहरू सुदृढ गर्ने तथा ज्ञान आदानप्रदान र संस्थागत क्षमता विकासमा जोड दिइनेछ।

स्वीस विकास तथा सहकार्य निकाय (SDC) का सहायक महानिर्देशक तथा एसिया-अमेरिकाज डिभिजनका प्रमुख राजदूत अर्नो विक्की (Arno Wicki) का अनुसार, “स्विट्जरल्यान्ड नेपालमा दिगो विकास र सहनशीलता प्रवर्द्धनमा दृढ प्रतिबद्ध छ। यस साझेदारीअन्तर्गत स्वीस शैक्षिक तथा निजी क्षेत्रका विज्ञहरू नेपाली सरोकारवालासँग सहकार्य गर्दै नवीनतम समाधान विकासमा संलग्न हुनेछन्।”

ADB, IDA र SDC को यो सहकार्यले नेपालमा दिगो र सहनशील विकासलाई सुदृढ पार्दै, संयोजनात्मक प्रयास, स्रोतको साझा उपयोग र दोहोरिने कामबाट बच्ने कार्यलाई बल पुर्‍याउने उद्देश्य लिएको छ।

प्रकाशित मिति : बुधबार, कात्तिक १९, २०८२ | १४:४५:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया