अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो


काठमाडौं– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ । अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो ।
लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि सञ्चालनमा आएको उनले बताए ।
अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ ।
संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो