सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

छानबिनमा कैफियत नदेखिएपछि मुस्ताङमा रोकिएका ७७५ बीवाइडी विद्युतीय सवारी फुकुवा

जलसरोकार
मंगलबार, असार ०२, २०८३ | ०९:३७:३७ बजे

 

मुस्ताङ : कोरला नाकामार्फत नेपाल भित्रिएका बीवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सवारीसाधन फुकुवा गरेको छ। मुस्ताङको जोमसोम र कोरला नाकामा रोकिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।

गत जेठको दोस्रो र तेस्रो सातामा कोरला नाकामार्फत बीवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ सवारीसाधनको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरिसकेको थियो। आयात प्रक्रियामा अनियमितता हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो।

उक्त सवारीसाधन साइमन इन्कले आयात गरेको जनाएको छ। घटनाको छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

छानबिन समितिले जेठ २१ गतेदेखि कास्की, पर्वत, जोमसोम र कोरला नाकामा पुगेर स्थलगत अध्ययन तथा अनुसन्धान थालेको थियो। समितिको प्रारम्भिक प्रतिवेदनमा कोरला नाकामार्फत भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ तथा कोरला नाकामा ३९४ गरी कुल ७७५ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको हो। दुई सातासम्म नियन्त्रणमा राखिएका सवारीसाधनमा कुनै कैफियत पुष्टि नभएपछि गन्तव्यतर्फ पठाउन थालिएको उनले बताए।

जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा सवारीसाधन मात्रै बाँकी रहेका छन्।

यस्तै, कोरला नाकामा रहेका भन्सार जाँचपास भइसकेका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइँदै छ। भन्सार प्रक्रिया पूरा नभएका सवारीसाधनको आवश्यक प्रक्रिया सम्पन्न गरी सहज रूपमा गन्तव्यतर्फ लैजान सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असार ०२, २०८३ | ०९:३७:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया