जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

६६.३ मेगावाटको मध्य कालीगण्डकी आयोजनामा जुट्यो लगानी, ४ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य

नबिलसहित ६ बैंकले ११ अर्ब १२ करोड लगानी गर्ने

जलसरोकार
शुक्रबार, असार ०७, २०८१ | १८:३२:५६ बजे

 

काठमाडौं -आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्टको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको प्रमुख बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैंक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड लिमिटेड रहेका छन् । जसमा नबिल बैंक ३ अर्ब १२ करोड ९८ लाख, एभरेष्ट बैंक २ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब, नेपाल बैंक १ अर्ब, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब र प्रभु बैंक को १ अर्ब लगानी गर्नेछन् । यस्तै हाइड्रो इलेक्ट्रिक सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले १ अर्ब लगानी रहेको छ । आयोजनाको निर्माण अवधिको व्याज वाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूंजी (इक्विटी वाट जुटाइएको छ । इक्विटीमा आईएमई समुह र सर्वसाधारणको लगानी रहने छ । ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख अनुमानित लागत रहेको छ । 

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको व्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नविल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेधा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, प्रत्येकले १ अर्ब रूपैयाँ रहनेछ ।

आयोजनाको वित्तीय व्यवस्थापन कार्यक्रम मा बोल्दै नबिल बैंक का प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुङ्गानाले आयोजना निक्कै राम्रो भएकाले बैंकले लगानी गर्न लागेको बताए । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आयोजनाको छुट्टै विशेषता रहेको बताए । आयोजनामा बाटो निर्माण जस्ता कार्य गर्नु नपर्ने भएका कारण तथा प्रसारण लाइन पनि निर्माण भइसकेको हुँदा आयोजना निकै आकर्षक रहेको बताए । सुख्खायाममा पनि ३२ प्रतिशत विद्युत् उत्पादन गर्न सकिने हुँदा आयोजना निकै आकर्षक रहेको बताए । आयोजनाको ब्याजसहित प्रतिमेगावाट २२ करोड ५३ लाख रुपैयाँ अनुमानित लागत रहेको छ ।

नदी प्रवाहमा आधारित मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भूमिगत पावर हाउस रहने आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणको दाना सब स्टेसनमा जोडिनेछ ।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद विक्रि सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् । 

प्रकाशित मिति : शुक्रबार, असार ०७, २०८१ | १८:३२:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया