जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

५५ अर्ब १५ करोड स्वदेशी पूँजीमा बन्ने भयो २८५ मेगावाटको माथिल्लो तमोर, ४ वर्षमा बिजुली बाल्ने लक्ष्य

जलसरोकार
बिहीबार, जेठ २४, २०८१ | १९:४७:२७ बजे

 

काठमाडौं– निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो माथिल्लो तमोर जलविद्युत् आयोजनाले वित्तीय व्यवस्थापन गरेको छ । २८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजना ४ वर्षमा सम्पन्न गर्ने गरी तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको हो ।  बिहीबार ऋण सम्झौतामा तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्प ज्योति ढुंगाना र अगुवाईकर्ता बैंक (एभरेष्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे ।

आयोजनाको अनुमानित लागत ५५ अर्व १५ करोड रुपैयाँ रहेको छ भने निर्माण कार्य आगामी २०८५ साल जेठमा सम्पन्न हुनेछ । आयोजना सञ्चालनबाट पहिलो वर्षमा करिब १० अर्व १२ करोड रुपैयाँ आम्दानी हुनेछ र वार्षिक रुपमा वृद्धि हुँदै नवौ वर्षमा करिब १२ अर्व ५५ करोड रुपैयाँ पुग्नेछ ।

एभरेष्ट बैंकको अगुवाईमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीयल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक  तथा गरिमा विकाश बैंकले ऋण लगानी गरेका छन् । 

कोशी प्रदेश ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त आयोजना हो । ६ घण्टाको पिकिङ क्षमतामा निर्माण हुने यस आयोजनामा बाँधमाथि रहने रिजर्भवायरमा २ घण्टा र हेड पोण्डमा ४ घण्टा पूर्ण क्षमतामा (Peak Hour)  विद्युत् निकाल्न पुग्ने पानी भण्डारण गरिनेछ । यस आयोजनाको डिजाइन डिस्चार्ज करिब ७८ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४५० मिटर रहनेछ ।   

आयोजनामा करिब ९१ मिटर लामो २२ मिटर अग्लो बाँध रहने छ, जसमा दुई वटा अन्डर स्लुइस (Under  Sluice) र ४ वटा व्यारेज (Barrage) रहनेछन् ।  ७८ घनमिटर प्रतिसेकेण्डको पानीलाई ६ वटा इन्टेक गेट (Intake Gate) मार्फत ग्राभेल ट्र्यापमा पठाइनेछ । यस संरचनामा ५ मिलिमिटर भन्दा ठूला सेडिमेन्ट (Sediment) मा थिग्ग्राइनेछ । यहाँबाट ३ वटा १६० मिटर शून्य लामो समानान्तर सेटलिङ बेसिन ( Settling Basin) मा पानी पठाइनेछ । 

उक्त सेटलिङ बेसिन (Settling Basin) मा शून्य दशमलब २ मिलिमिटर भन्दा ठूला सेडिमेन्ट(Sediment) मा थिग्य्राएपश्चात् तुलनात्मक रुपमा सफा पानी पिकिङ पोन्ड (Peaking Pond) मा जानेछ । यस पोखरीको पानी भण्डारण गर्ने क्षमता ८ लाख घनमिटर रहनेछ । 

पिकिङ पोन्डबाट सफा पानी करिब ८ हजार ७ सय ३० मिटर लामो इन्भर्टेड डि सेपटनेल हुँदै अन्डर ग्राउन्ड पावर हाउसमा झारिनेछ । टनेल तथा ६ सय ८३ मिटर लामो पेनस्टक साफ्टको बीचमा १४ मिटर व्यास तथा ९३ मिटर अग्लो सर्ज साफ्ट रहनेछ । यस आयोजनाबाट वार्षिक रुपमा एक हजार ६ सय ५५ गिगावाट आवर अर्थात् एक अर्ब ६५ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ । 

जसमध्ये ४४६ गिगावाट आवर सुख्खायाममा उत्पादन हुनेछ । निजी क्षेत्रले निर्माण गर्न लागेको यो एउटा आकर्षक आयोजना हो भने राष्ट्रिय स्तरमा पीक इनर्जी व्यालेन्स गर्न यो आयोजनाले अहम् भूमिका खेल्ने आयोजनाको दाबी छ । यस आयोजनाको भूमिगत विद्युत गृह करिब १०४ मिटर लामो र २५ मिटर चौडाइको हुनेछ, जसमा ५७ मेगावाट क्षमताका ५ वटा पेल्टन टर्बाइन रहनेछन् । उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट करिब १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत ढुङ्गेसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।  

कार्यक्रममा बोल्दै तमोर इनर्जीका अध्यक्ष ढुंगानाले देशमा उत्पन्न भएको निराशा चिर्न ठूला आयोजना निर्माण गरेर स्वदेशी पूँजीमा पनि ठूला आयोजना निर्माण गर्न सकिने सन्देश दिन लागेको  बताए ।

 २८५ मेगावाटको आयोजना निर्माण गर्दै गर्दा निजी क्षेत्रलाई विद्युत् क्षेत्रमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने शैलजा आचार्यलाई स्मरण गरे । २०४९ सालमा आएको विद्युत् ऐनले नै निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा प्रवेश पाएको बताए । 

ताप्लेजुङमा निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना र निजी क्षेत्रले हालसम्म निर्माण गर्न लागेको सबै भन्दा ठूलो आयोजना निर्माणमा ताप्लेजुङ बासीको साथ र सहयोग पाउने ढुंगानाले विश्वास व्यक्त गरे ।

 नेपालको निजी क्षेत्र पनि स्वदेशी लगानी र पूँजीमा ठूला आयोजना समेत निर्माण गर्न सक्ने अवस्था आएको ढुङ्गानाले बताए । 

नेपालमा नेपाली पूँजी क्षमताले आयोजना निर्माण गर्न सकिने माथिल्लो तमोर आयोजनाले आशा देखाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल( इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । सरकारले बजेटमा जलविद्युत् विकासका लागि कुनै योजना न ल्याएको बताए। प्रधानमन्त्रीको निर्देशनले पनि भन्सारमा अड्किएको जलविद्युतको समान पास नभएको कार्की दुःख व्यक्त गरे । सरकारले २८ हजार ५०० मेगावाटको लक्ष्य बनाउँदा यसलाई सार्थक गर्नकाे लागि बैंकले २० प्रतिशत जलविद्युत्मा लगानीको व्यवस्था गर्नु पर्ने कार्कीकाे भनाइ छ ।

कुल ५५ अर्ब १५ करोड अनुमानित लागत रहेको आयोजनामा १६ अर्ब ५५ करोड स्व: पूँजी तथा ३८ अर्ब ६० करोड बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने छन् ।

प्रवर्द्धक समूहले यसअघि १ मेगावाट पातीखोला जलविद्युत् आयोजना, १५ मेगावाटको हेवा खोला 'ए' जलविद्युत् आयोजना, ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना सञ्चालनमा छन् । यस्तै ३७.५ मेगावाट क्षमताको तमोर-५ जलविद्युत् आयोजना र  २१ मेगावाट क्षमताको पालुनखोला जलविद्युत् आयोजना निर्माणाधीन रहेका छ्न्। आयोजनाको २०७९ कार्तिकमा नेपाल विद्युत् प्राधिकरणसँग ऊर्जा खरिद बिक्री सम्झौता (PPA) भएको थियो । 

निजी क्षेत्रले निर्माण गर्न लागेको यो सबैभन्दा ठूलो आयोजना हो । यसअघि स्पार्क हाइड्रोले १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवसथपन गरी निमाण गरिरहेको छ । हालसम्म देशभर जलविद्युतको उत्पादन निजी क्षेत्रबाट उत्पादित १८९० मेगावाट, नेपाल विद्युत् प्राधिकरणको ५८३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको ४९३ मेगावाट २९६६ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । यस्तै सौर्य ऊर्जा ११६ मेगावाट, प्राधिकरणको थर्मल प्लान्ट ५३ मेगावाट र बगास ६ मेगावाट गरी ३१४१ मेगावाट पुगेको छ ।

प्रकाशित मिति : बिहीबार, जेठ २४, २०८१ | १९:४७:२७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया