सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

जलसरोकार
शुक्रबार, असोज ०९, २०८३ | ११:५८:३२ बजे

 

काठमाडौं : म्याग्दीमा  निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाबाट २०–२० मेगावाट क्षमताका दुईवटा युनिटमार्फत विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब आयोजनाको परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन १५ दिनसम्म गरेपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने जनाइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताए । 

उनका अनुसार विद्युत्को उच्च माग हुने साँझको समयमा आयोजना दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ। यसले विशेषगरी सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । 

आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ। कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ। निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

आयोजनाको वित्तीय व्यवस्थापन नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट गरिएको हो।

आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ढाँचामा गर्न भारतको जयप्रकाश एसोसिएट्स लिमिटेडसँग २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरिएको थियो। उक्त सम्झौता २०७५ जेठ १० गतेदेखि कार्यान्वयनमा आएको थियो। इलेक्ट्रोमेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो।

आयोजनाको निर्माण सुपरीवेक्षण भारतको वाप्कोस लिमिटेडले गरेको हो।

राहुघाट जलविद्युत् आयोजना सुरुमा नेपाल विद्युत् प्राधिकरणले ३२ मेगावाट क्षमतामा अघि बढाएको थियो। निर्माणका क्रममा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गर्ने र प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरिएको थियो।

सोही निर्णयअनुसार रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी नयाँ ठेक्का सम्झौतामार्फत आयोजनाको निर्माण अघि बढाइएको थियो। लामो समयदेखि निर्माणाधीन आयोजना विभिन्न चुनौती पार गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै अब व्यावसायिक उत्पादनको चरणमा प्रवेश गर्ने भएको छ।

 

प्रकाशित मिति : शुक्रबार, असोज ०९, २०८३ | ११:५८:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया