२८ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा, २ वटा बन्द


काठमाडौं : सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु.४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज राष्ट्रिय सभामा पेश गरेको 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२' अनुसार नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु.३ अर्ब ६३५ करोड रहेको छ।
नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।
सार्वजनिक संस्थानबाट नेपाल सरकारलार्इ आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैया लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको देखिएको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ।
सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अर्थमन्त्री पौडेलले बताए।
यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको छ। 'यद्यपि, यस्ता प्रतिष्ठानहरूको संस्थागत संरचना, सञ्चालन, नीति, कार्य योजना, वित्तीय अनुशासन, पारदर्शिता, जबाफदेहिता, दक्षता तथा सेवा प्रवाहमा अझै सुधारको आवश्यकता देखिएको छ,' अर्थमन्त्री पौडेलले भने ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई रु.२९ खर्व १० अर्ब १७ करोड पुगेको छ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जसमा सेयर लगानी र३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एक महिनामै १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
-
देशभर बदली, कोशी-गण्डकी-लुम्बिनीमा भारी वर्षाको सम्भावना
-
विद्युत् प्राधिकरणका अधिकांश प्रदेश प्रमुखहरुले विद्युत् चुहावट बढाए (विस्तृत विवरणसहित)
-
सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढ्यो
-
आगामी २४ घण्टासम्म पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना
-
प्राधिकरणमा विद्युत् चुहावट मात्रै १२ अर्ब ७० करोड रुपैयाँ बराबर