सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग

जलसरोकार
शुक्रबार, भदौ १२, २०८३ | १७:१७:२६ बजे

 

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले रु एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ जम्मा गरेका हुन् ।

नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग जुट्न थालेको हो ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ रु एक करोड वा सोभन्दा बढी सहयोग गर्ने दाताबाट प्राप्त रकम आफैँमार्फत स्वीकार गरिरहनुभएको छ । व्यक्तिगततर्फको नगद सहयोग भने दाताले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ सहयोगसँगै कोषमा रहेको बचत रकम रु चार अर्ब नौ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा रु दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ बचत रहेको थियो ।

यसैगरी, बिहीबारको छ घण्टाको अवधिमा मात्रै नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत रु २७ करोड ३३ लाख सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश नरहेको जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३ | १७:१७:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया