इलाममा पहिरोमा परी १७ जनाको मृत्यु, दर्जनौं परिवार विस्थापित
जलसरोकार
इलाम : इलाम जिल्लाका विभिन्न स्थानमा आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । दर्जनौं घर परिवार विस्थापित भएका छन् भने केही अझै बेपत्ता छन् ।
मानवीय क्षति सबैभन्दा धेरै इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा भएको स्थानीय प्रशासनले जनाएको छ ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको श्रीअन्तु गणबाट खटिएको उद्धार टोलीले शव फेला पारेको हो ।
यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । प्रारम्भिक उद्धारमा ४ जनाको शव फेला पारेकोमा घाइते १ जनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । सो घरबाट १ जनालाई सकुशल उद्धार गरिएको छ ।
त्यस्तै माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँमा मदन लिम्बुको घर भत्किँदा ३ जनाको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर ज्यान गुमाएका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् । यद्यपि लगातारको वर्षाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।
प्रहरीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा तत्काल राहत र अस्थायी बसोबासको व्यवस्था गर्न पहल भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना