स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो । चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
बजेट थप भएका योजनामा दोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडक, लेखफाँट-शालिजा सडक, देउपुर-पूर्णगाउँ-घुरूङ्गा सडक, लिमठाना-अर्चले-भँगरा सडक र वालिङ-हुवास-सेतीवेणी सडक रहेका छन् । सङ्घीय सरकारमार्फत निर्माणाधीन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो ।
यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट-शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधीन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर-पुर्णगाउँ-घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो ।
फलेवास नगरपालिकामा रहेको लिमठाना-अर्चले-भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ ।
यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ-हुवास-सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिए । उनका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो ।
पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पु¥याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताए । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उनले बताए ।
सांसद गिरीले भने, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।”
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताए । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उनको भनाइ छ । (रासस)
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान
भ्रममा नपरी देश विकासमा जुट्न ऊर्जा मन्त्री खड्काको आग्रह
न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइँकेल चयन
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन :अध्यक्ष ढकाल
सेयर बजार सामान्य अङ्कको वृद्धिसँगै २६९४.६६ को विन्दुमा कायम