एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
लामो समय परिवारबाट टाढा रहेका श्रमिकका परिवारलाई कतार भ्रमणको अवसर
जलसरोकार
काठमाडौं : कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर न्यून तलबमा काम गरिरहेका नेपाली श्रमिकलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले ‘स्नेह मिलन २०२६–सिजन ९’ अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत छनोट भएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याएर उनीहरूसँग पुनर्मिलन गराइने भएको हो। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले शनिबार दोहास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानबारे जानकारी गराएको हो।
संघका अनुसार अभियानअन्तर्गत कतारमा कार्यरत छनोट भएका १० जना नेपाली श्रमिकका परिवारका सदस्यलाई कतार ल्याइनेछ। परिवारका सदस्यको हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, होटलमा बसोबास र कतारका विभिन्न आकर्षक स्थलहरूको भ्रमणको व्यवस्था गरिनेछ।
कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर न्यून तलबमा काम गरिरहेका नेपाली श्रमिकलाई आफ्ना प्रियजनसँग पुनर्मिलन गराउने अभियानको मुख्य उद्देश्य रहेको संघले जनाएको छ। वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारबाट अलग रहनुपर्ने श्रमिक र उनीहरूका परिवारले भोग्दै आएको पारिवारिक विछोडलाई केही समय भए पनि कम गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो।
संघले ‘स्नेह मिलन’लाई लामो समयको पारिवारिक विछोडपछि माया, आत्मीयता र खुसी साट्ने मानवीय अभियानका रूपमा अघि बढाएको जनाएको छ। कतारको विकासमा योगदान गरिरहेका नेपाली श्रमिकहरूको भावना र पारिवारिक आकांक्षालाई सम्मान गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको साथ र सहकार्यको अपेक्षा गरिएको संघले जनाएको छ।
अभियानको मुख्य प्रायोजन भिक्टोरिया गोल्ड एन्ड डायमन्डले गरेको छ भने क्यूएफएम रेडियो नेटवर्कले सहकार्य गरेको छ। अभियानको कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति संघले धन्यवादसमेत व्यक्त गरेको छ।
अभियानको आगामी प्रक्रिया तथा थप जानकारी संघका आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गरिने जनाइएको छ। संघले अभियान सफल बनाउन निरन्तर साथ, सुझाव तथा प्रचार–प्रसारमा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
-
आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत