जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एमसीसीअन्तर्गतको सबस्टेसन र प्रसारण लाइनको निर्माण समय नमिल्दा बिजुली खेर जाने चिन्ता

विकास थापा
बुधबार, असोज ०२, २०८१ | १३:०३:१६ बजे

काठमाडौं : एमसीए नेपालले बुटबल–गोरखपुर ४०० केभी डब्बल सर्किट अन्तर्देशीय प्रसारण लाइनको नभई नहुने अवयव ४०० केभीको सवस्टेशन १५ महिना ढिला हुने गरी ठेक्कापट्टा गरेपछि नेपाल विद्युत् प्राधिकरणले बर्खायाममा बिजुली खेर फाल्नुपर्ने र प्रसारण लाइनको क्षमता बुक गरेबापत जरिवाना तिर्नुपर्ने भएको छ ।
अन्तर्देशीय प्रसारण लाइन निर्माण भएको १५ महिनापछि मात्र नवलपरासी (बर्दघाट पश्चिम सुस्ता) स्थित भूमहीमा एमसीए नेपालले ठेक्का लगाएको सवस्टेशन तयार हुने भएपछि यो अवस्था आएको हो । 
एमसीए नेपालले कुल ३१५ किलोमिटर ४०० केभीको प्रसारण लाइनमध्ये १८ किलोमिटरको न्यू बुटबल-गोरखपुरको ठेक्का लगाइसकेको छ । यो लाइन ठेक्का भएको २१ महिनाभित्र अर्थात् सन् २०२६ को जून महिनाभित्र पूरा हुनेछ । 
चारैतिरबाट आएका बिजुली संकलन गरेर बर्दघाट हवबाट गोरखपुरतिर लैजानका लागि सवस्टेशन निर्माण भने सेप्टेम्बर २०२७ मा हुने भएको छ । बुटबल-गोरखपुर १८ किलोमिटरको खण्ड पूरा भएको १५ महिनाभित्र मात्र सवस्टेशन तयार हुनेछ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित ४०० केभीको न्यू बुटबल सवस्टेशनको पनि ठेक्का भइसकेको छ । यो सवस्टेशनको ठेकेदार कम्पनी भारतको लिनक्सन इण्डिया प्राइभेट लिमिटेड हो । यो सवस्टेशन निर्माण ३९ महिनाभित्र हुने गरी ठेक्का भएको हो । ठेक्का रकम ३५.५१ मिलियन यूएस डलर (हालको मूल्यमा ४ अर्ब ६१ कराेड रुपैयाँ ) 
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गतको एमसीए नेपालले ३९ महिनाभन्दा वर सवसटेशन निर्माण नहुने जानकारी ऊर्जा, अर्थ र नेपाल विद्युत् प्राधिकरणलाई पहिले नै गराइसकेको एमसीए नेपालले जनाएको छ । यसको ठेक्का सम्झौता ९ मे २०२४ मा भएको हाे । 
नेपाल विद्युत् प्राधिकरणले बनाएका सवस्टेशन २४ महिनामा पूरा हुने तर एमसीएले ठेक्का लगाएको ३९ महिना लाग्ने भएपछि यो स्थिति आएको हो । 
सवस्टेशनको ठेकेदार कम्पनीले ट्रान्सफर्मरको आपूर्तिकर्ता (हिटाची) र जीर्आएस हल प्रि–फ्रेब्रिकेटड राखेमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने प्रस्ताव राखेको तर एमसीए नेपालले नमानेको प्राधिकरण स्रोतले बतायो ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संसारभर नै ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी थोरै रहेको र २४ महिनाभित्र ट्रान्सफर्मर आपूर्ति हुन नसक्ने स्थिति रहेकाले ३९ महिनाकै अवधि राख्नुपरेको बताए । ‘बिडिङ गर्ने बेलामै हामीले २४ महिनामा सकिंदैन भनेका थियौं,’ विष्टले भने । 
विकल्प खोज्दै प्राधिकरण
दुई वर्षभित्र सवस्टेशन तयार नहुने जानकारी एमसीए नेपालले लिखित रुपमै दिएपछि प्राधिकरणले गोरखपुर सवस्टेशनमा २२० मा चार्ज गर्न सकिने विकल्पबारे कमिटी गठन गरेर अध्ययन गरिने प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए ।
प्राधिकरणले यसअघि ४०० केभीको ढल्केबर सवस्टेशन पनि पहिले २२० केभीमा चार्ज गरी ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । ढल्केबर सवस्टेशन पूर्णमा निर्माण सम्पन्न भएपछि ४०० केभीमै चलाउँदै आएको छ ।
‘२२० केभीमा चार्ज गरी बुटबल गोरखपुर प्रसारण लाइन सञ्चालन गर्न सकिनेबारे कमिटी नै गठन गरेर अध्ययन गर्ने भएका छौं,’ श्रेष्ठले बुधबार जलसरोकारसँग भने ।
यता प्राधिकरण र बुटबल–गोरखपुर प्रसारण लाइन सञ्चालन गर्ने संयुक्त कम्पनी (५० प्रतिशत प्राधिकरणको, ५० प्रतिशत पावर ग्रीड कर्पाेरेशन अफ इण्डियाको) बीच कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता (आईटीएसए) २०२३ को जून १ गते भएको थियो । यो सम्झौताअनुसार प्राधिकरणले ३६ महिनाभित्र यो लाइन सञ्चालन गरिसक्नुपर्ने अन्यथा प्रसारण शुल्क र जरिवाना तिर्नुपर्नेछ ।
४०० केभीको बुटबल–गोरखपुर प्रसारण लाइनको पूर्ण क्षमता (करिब ३ हजार मेगावाट) को बुकिङ प्राधिकरणले गरेको छ । क्षमताअनुसार यो लाइनमा बिजुली प्रवाह भएन भने त्यसको पैसा यो लाइन सञ्चालन गर्ने संयुक्त कम्पनीलाई बुझाउनुपर्नेछ । 
अबको दुई वर्षपछि करिब २ हजार मेगावाट बिजुली प्रणालीमा जोडिंदैछ । विद्युत् प्राधिकरणको व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार वर्षको ८, ९ सय मेगावाटका दरले प्रणालीमा विद्युत् थप हुने गरेको छ । ‘अबको दुई वर्षमा २ हजार मेगावाट उत्पादन हुने देखिन्छ,’ ढकालले जलसरोकारसँग भने ।
यता प्राधिकरणले भारतसँग करिब एक हजार मेगावाट बेच्न पाउने अनुमति पाएको छ । एकमात्र सीमपार ४०० केभी प्रसारण लाइन ढल्केबर-मुजफ्फपुर हो । यसको क्षमता एक हजार मेगावाट कायम भएको छ । यसअनुसार बुटबल–गोरखपुर प्रसारण लाइन अन्तर्गतको भुमही नवलपरासीस्थित ४०० केभीको जीआईएस सवस्टेशन ढिलो हुँदा वर्षायाममा धेरै बिजुली खेर जानेमा प्राधिकरण चिन्तित छ । 
 

 

प्रकाशित मिति : बुधबार, असोज ०२, २०८१ | १३:०३:१६ बजे

लेखकको बारेमा

विकास थापा
झण्डै ३ दशकदेखि पत्रकारितामा सक्रिय थापा जलसरोकारका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया