काठमाडौं– वर्ष २०८० आजबाट बिदा हुँदैछ । २०८० सालले बिदा लिँदैगर्दा देशको जलविद्युत् क्षेत्र पनि निकै चर्चाले ततायो । भारतसँगको १० हजार मेगावाट सम्झौता र बंगलादेशमा ४० मेगावाट निर्यातको चर्चाले पनि मिडिया क्षेत्र ऊर्जामय बन्यो । भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद बिक्री सम्झौता, मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यक्रमको सुरुवात जस्ता ऊर्जा क्षेत्र तताउने समाचार बने ।
यस्तै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर नयाँ कार्ययोजना बनायो । यसअघि संसदबाट पास हुन नसकेको विद्युत् विधेयक पुनः संसदमा दर्ता जस्ता समाचारले पनि नेपालको ऊर्जा क्षेत्रमा चर्चाको विषय बन्यो । यस्तै असारमा पूर्वी नेपालमा आएको बाढी सो क्षेत्रका जलविद्युत् आयोजना तहसनहस पारेका दुखद् समाचारले पनि ऊर्जा क्षेत्रमा छायो ।
वर्षको अन्त्यमा आउँदा भारतले सोलार आवार (सौर्य विद्युत् उत्पादन हुने समय)मा मात्रै विद्युत् दिने तीन महिने सम्झौताले नेपालमा पुनः लोडसेडिङ हुने भन्दै समाचार भाइरल बने । ऊर्जा क्षेत्रका यस्ता विविध समाचारले २०८० को वर्ष सकिएको छ । यसै वर्ष सरकारले ग्रीन हाइड्रोजना नीति ल्यायो र काठमाडौं विश्व विद्यालयले हाइड्रोजन रिफलको सफलता पूर्वक परीक्षण ग¥यो ।
वर्षको अन्त्यसम्म आइपुग्दा नेपालको राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता ३०५४ मेगावाट पुगेको छ । यस वर्ष २२ वटा आयोजनाका ४६० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यसरी समग्र विद्युतको जडित क्षमता ३०५४ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
२०८० को सुरुवातमै २ मेगावाटको सौर्य विद्युत पावर कम्पनीको २ मेगावाट सोलार आयोजना राष्ट्रिय प्रणालीमा जडानबाट सुरु भएको जलविद्युत् वर्षको अन्त्यमा ७१ मेगावाटको निलगिरि खोला २ क्यास्केड प्रोजेक्ट प्रणालीमा जोडिएपछि ३०५४ पुगेको छ ।
४६० मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो
वर्ष २०८० मा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा सौर्य विद्युत् पावर प्रा.लि.को २ मेगावाटको ग्रिड कनेक्टेड सोलार प्रोजेक्ट, पियोर इनर्जी प्रा.लि.को १० मेगावाट क्षमताको सोलार पीभी प्रोजेक्ट, पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, बेनी हाइड्रो पावर प्रोजेक्ट प्रा.लि.को १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना, मायाखोला हाइड्रो हाइड्रोपावर कम्पनी प्रा.लि.प्रर्वद्धक रहेको १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना, गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रा.लि. प्रर्वद्धक रहेको ९७० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना, ग्लोबल हाइड्रोपावर एसोशिएट प्रा.लि. प्रर्वद्धक रहेको ५२.४ मेगावाट क्षमता रहेको लिखु–२ जलविद्युत् आयोजना प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको छ । यसैगरी रिभर फल्स हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. प्रर्वद्धक रहेको १०.३ मेगावाट क्षमताको डाउन पिलुवा जलविद्युत् आयोजना, अपी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया, बुङ्गल हाइड्रो प्रा.लि. प्रर्वद्धक रहेको १०.७ मेगावाट क्षमताको माथिल्लो सनिगाढ जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घरखोला जलविद्युत् आयोजना, साञ्जेन हाइड्रोपावर कम्पनी लिमिटेडको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, गेलुन हाइड्रोपावर कम्पनीको ३.२ मेगावाट क्षमताको गेलुन खोला, मकर जितुमाया जलविद्युत् कम्पनीको ७ मेगावाट क्षमताको अप्पर सुरी, पियोर इनर्जी प्रा.लि.को १० मोगावाट क्षमताको सोलार पीभी प्रोजेक्ट बाँके, रिजलाइन इनर्जी प्रा.लि.को ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना, झापा इनर्जी लिमिटेड प्रर्वद्धक रहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् प्रोजेक्ट, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजना, याम्बलिङ हाइड्रो पावर प्रा.लि. प्रर्वद्धक रहेको ७.२ मेगावाट क्षमताको याम्बलिङ खोला जलविद्युत् आयोजना, पान हिमालय इनर्जी प्रा.लि.प्रर्वद्धक रहेको ७७ मेगावाट क्षमताको लिुख–१ जलविद्युत् आयोजना, भुजुङ हाइड्रोपावर प्रा.लि प्रर्वद्धक रहेको ७.५ मेगावाट क्षमता रहेको अपर मिदिम जलविद्युत् आयोजना र निलगिरि हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको निलगिरि खोला २ क्यास्केड जलविद्युत् आयोजना वर्ष २०८० मा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
बंगलादेशमा ४० मेगावाट निर्यातकाे चर्चा
वर्ष २०८० मा बंगलादेशमा पनि बिजुली निर्यातको चर्चाले ऊर्जा क्षेत्र तातायो । नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको निकायलाई आफ्नो दर पठाएपनि हालसम्म सहमति भने भएको छैन् । भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने विषय पनि अन्तिम चरणमा पुगेको प्राधिकरणको भनारुइ छ । यस सम्बन्धमा प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभीएनबीच आवश्यक समझदारीसमेत भइसकेको र मूल्यमा सहमति हुन बाँकी रहेको छ ।
यस्तै, प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, १०२ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने अन्तिम तयारी भइरहेको छ ।
चार्जिङ स्टेशन निर्माणमा तीव्रता
पछिल्लो समय बढ्दलै गएको विद्युतीय सवारी साधनको तुलनामा चार्जिङ स्टेसन कमी भएको छ । यद्यपि सरकारी निकाय नेपाल विद्युत् प्राधिकरसणले देशभर करिब ५१ वटा चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्यायो । निजी क्षेत्र र सरकारी गरी पछिल्लो समय ४ सयको हाराहारी चार्जिङ स्टेसन निर्माण भएका छन् ।
उच्च क्षमताका प्रसारणलाइन निर्माणको सुरुवात
यस वर्ष उच्च क्षमताका प्रसारण लाइन निर्माणतर्फ पनि सरकारले अग्रसरता देखाएको छ । एमसीसी भारततर्फको प्रसारण लाइनको शिलान्यस, कर्णाली करिडोरअन्तर्गतको ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण शुरु भएको छ । यसै अवधिमा भरतपुर बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन र सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यसैगरी २२० केभी क्षमताको सुनवल सवस्टेशन र प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । सेती र भेरी करिडोरमा पनि चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि लगानी सुनिश्चित गरिएको छ । यसबाट ती नदी करिडोरमा निर्माण हुने आयोजनाको बिजुली प्रणालीमा जोड्न र भारत निर्यातका लागि समेत सहज हुनेछ । मेवा चाँगे १३२ केभी क्षमताको प्रसारण लाइन समेत निर्माणको प्रक्रियामा अगाडि बढेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत ३०, २०८० | १६:१०:१८ बजे