पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गर्दै बजारमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस नीतिगत पहल अघि बढाउने बताएका हुन्।
उनले विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण पूँजी बजारमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसलाई थप बिग्रन नदिने स्पष्ट पारे। लगानीकर्ताको विश्वास बढाउँदै बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका कार्यक्रम अघि बढाइरहेको उनको भनाइ थियो।
‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन दिइने छैन,’ अर्थमन्त्री वाग्लेले भने, ‘लगानीकर्ताको विश्वास बढाउन र बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका ठोस कार्यक्रमहरू अघि बढाउँदै छ।’
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्र केन्द्रित हुनु अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा लाभदायक नहुने बताए। त्यस्तो पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन हुन सके मुलुकको अर्थतन्त्र थप सुदृढ हुने उनको धारणा थियो।
उनले निष्क्रिय अवस्थामा रहेको पूँजीलाई उत्पादन, लगानी र रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए। पूँजी बजारलाई पनि उत्पादनमूलक अर्थतन्त्रसँग जोड्दै लगानीका अवसर विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
यसैगरी, अर्थमन्त्री वाग्लेले सहकारी क्षेत्रमा देखिएको संकटले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेको बताए। सहकारीको समस्या समाधान नभएसम्म स्थानीयस्तरमा आर्थिक गतिविधि सहज रूपमा अघि बढ्न नसक्ने उनको भनाइ थियो।
घरजग्गा कारोबारमा देखिएको मन्दी, सहकारी क्षेत्रको संकट र पूँजी बजारको सुस्ततालाई एकैपटक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले समग्र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिएको बताए।
उनले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्दै लगानीको वातावरण सुधार गर्ने, पूँजीको प्रभावकारी परिचालन गर्ने र बजारप्रति लगानीकर्ताको विश्वास बढाउने गरी सरकार अघि बढिरहेको स्पष्ट पारे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी
-
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन