प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न
जलसरोकार
काठमाडौं : छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण तथा उत्साहपूर्वक सम्पन्न भएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । आयोगकी आयुक्त जानकीकुमारी तुलाधरका अनुसार मतदानको समय साँझ ५ बजेसम्म भए पनि मतदानस्थलमा लाइनमा बसेका मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने व्यवस्था गरिएको थियो ।
आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगन भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केही समय विवाद उत्पन्न भए पनि समाधान गरिएको छ । दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केहीबेर मतदान स्थगित भएपछि पुनः मतदान सुरु भएको आयोगले जनाएको छ ।
निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ६१ निर्वाचन चिह्नसहित ६५ राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । यसका साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको थियो ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने १४३ अस्थायी मतदानस्थल तय गरिएको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएको आयोगले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने
-
निर्माणाधीन प्रसारणलाइन र सबस्टेशनका लागि ७० अर्ब विनियोजन