भिजन लुम्बिनी ऊर्जाको नाफा बढ्यो, तर वित्तीय लागतको दबाब कायमै
जलसरोकार
काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा १ करोड १६ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९ करोड ४६ लाख ६३ हजार रुपैयाँ घाटामा थियो। यस आधारमा कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। तर नाफा सुधार भए पनि कम्पनीको आम्दानीको ठूलो हिस्सा खर्च व्यवस्थापन र वित्तीय दायित्वको भारले खाइरहेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १९ करोड ३२ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ। बिक्री लागत कटाएर कम्पनीको कुल नाफा १४ करोड ५० लाख ६६ हजार रुपैयाँ पुगेको छ। अन्य आम्दानीसमेत जोड्दा कुल आम्दानी १४ करोड ५४ लाख ३३ हजार रुपैयाँ पुगेको छ।
तर कम्पनीको सञ्चालन खर्चमा ह्रासकट्टी तथा परिशोधनको भार उल्लेख्य छ। पहिलो त्रैमासमै यस शीर्षकमा ५ करोड ६७ लाख ३० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै वित्तीय लागत मात्रै ६ करोड ६३ लाख १७ हजार रुपैयाँ पुगेको छ। यही कारण सञ्चालनतर्फको नाफा सकारात्मक रहे पनि अन्तिम खुद नाफा भने करिब १ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको वित्तीय विवरणले विद्युत् उत्पादन तथा बिक्रीबाट आम्दानी बढ्दै गए पनि ऋणको लागत अझै प्रमुख चुनौतीका रूपमा रहेको देखाउँछ। कम्पनीको गैरचालु कर्जा मात्रै ३ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेको छ। यसले आगामी अवधिमा विद्युत् उत्पादनबाट हुने आम्दानी र ऋण व्यवस्थापनबीचको सन्तुलन कम्पनीका लागि महत्वपूर्ण हुने संकेत गर्छ।
कम्पनीको कुल सम्पत्ति ६ अर्ब ५७ करोड ८० लाख रुपैयाँ रहेको छ। त्यसमध्ये अमूर्त सम्पत्ति मात्रै ६ अर्ब १६ करोड ६५ लाख रुपैयाँ छ। यसले कम्पनीको सम्पत्तिको ठूलो हिस्सा आयोजनासँग सम्बन्धित अमूर्त सम्पत्तिमा केन्द्रित रहेको देखाउँछ।
कम्पनीले वर्षायाममा नदीमा आउने बाढीपहिरोका कारण आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न चुनौती रहेको जनाएको छ। दक्ष जनशक्तिको अभाव तथा मौसमजन्य समस्या पनि कम्पनीले आगामी दिनका चुनौतीका रूपमा उल्लेख गरेको छ।
यसरी हेर्दा भिजन लुम्बिनी ऊर्जाले घाटाबाट नाफातर्फ फर्किएर वित्तीय सुधारको संकेत गरेको भए पनि ऋणको भार, वित्तीय लागत र आयोजना सञ्चालनमा आउने मौसमी जोखिम अझै कम्पनीको नाफालाई प्रभावित गर्न सक्ने प्रमुख पक्षका रूपमा देखिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भिजन लुम्बिनी ऊर्जाको नाफा बढ्यो, तर वित्तीय लागतको दबाब कायमै
-
नेप्से १५ अंकले उक्लियो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो
-
पीपीएको मस्यौदा : निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारी नीति
-
सुनकोसी–मरिण अलपत्र पार्ने निर्णयको हिसाब खोज्दै लेखा समिति, सात दिनभित्र कागजात बुझाउन निर्देशन
-
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपि पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम