सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘बी’मा सबै भवनको खोजी सकियो, अब पावरहाउस क्षेत्रमा उत्खनन

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | ०८:४३:०८ बजे

काठमाडौं : माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा बाढीले पुरिएका संरचनाको खोजीका क्रममा ए-१, ए-२ र डी भवन पनि नभेटिएपछि अब उत्खनन पावरहाउस क्षेत्रतर्फ अघि बढाइएको छ।

त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले जलसरोकारलाई दिएको जानकारीअनुसार सोमबार अपराह्नसम्म ए-१, ए-२ र डी भवन रहेको क्षेत्रलाई जगको तहसम्म उत्खनन गरिएको थियो। तर त्यहाँ कुनै पनि भवनको अवशेष फेला परेन।

उत्खननका क्रममा ठूला ढुंगा, चकनाचुर भएका फलामे डन्डी तथा अन्य धातुका टुक्रा मात्र भेटिएको ढुंगेलले बताए।

बाढीपछि आयोजनास्थलमा रहेका संरचनाको अवस्था पत्ता लगाउन कम्पनीले निरन्तर उत्खनन गर्दै आएको छ। यसअघि कार्यालय भवन तथा बी-१ र बी-२ आवासीय भवन रहेको क्षेत्रमा पनि उत्खनन गर्दा कुनै भवन नभेटिएको कम्पनीले आधिकारिक सूचनामार्फत जनाएको थियो।

ए-१, ए-२ र डी भवनसमेत नभेटिएपछि आयोजनास्थलका भवन संरचनाको खोजी अब पावरहाउस क्षेत्रमा केन्द्रित गरिएको ढुंगेलले बताए। पावरहाउस क्षेत्रमा सोमबारदेखि नै उत्खनन सुरु गरिएको र मंगलबार पनि निरन्तरता दिइने उनले जानकारी दिए।

लगातारको प्रयासका बाबजुद अहिलेसम्म कुनै भवन वा स्पष्ट संरचना फेला नपर्नु अत्यन्त दुःखद् र निराशाजनक भएको ढुंगेलले बताएका छन्। 

माथिल्लो त्रिशूली-३ ‘बी’ ३७ मेगावाट क्षमताको आयोजना हो। २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा रहेका भवन तथा संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीसँगै आयोजनास्थलका संरचनाको अवस्थासमेत उत्खननमार्फत खोजिँदै आएको छ।

यता आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले हिजो एक सूचना जारी गरी बाढीका कारण आयोजनास्थलमा रहेका भवन तथा संरचनामा पूर्ण क्षति पुगेको छ। त्यस क्रममा त्यहाँ रहेका अधिकांश कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि कम्पनीले भदौ १४ गतेदेखि एक्स्काभेटर, जेसीबी, ब्रेकरलगायत विभिन्न उपकरण प्रयोग गरी आयोजनास्थलमा उत्खनन सुरु गरेको थियो।

उत्खननका क्रममा आयोजनाको कार्यालय भवन तथा आवासीय भवन ए-१, ए-२, बी-१, बी-२ र डी रहेको क्षेत्रमा खोजी गरिएको थियो। तर तीमध्ये कुनै पनि भवन नभेटिएको कम्पनीले स्पष्ट पारेको छ।

उत्खननबाट केही फलामका टुक्रा, बाहिरबाट बगाएर ल्याएका ठूला ढुंगा तथा क्षतविक्षत अवस्थामा रहेका कंक्रिटलगायतका वस्तु मात्र फेला परेको सूचनामा उल्लेख छ।

यसअघि आयोजनास्थलमा रहेका कार्यालय तथा आवासीय भवनहरू बाढीपछि ठूलो परिमाणमा माटो, लेदो र ढुंगाले पुरिएको अवस्थामा रहेको बताइएको थियो। ती संरचनाको अवस्थाबारे यकिन गर्न आयोजनाले चरणबद्ध रूपमा उत्खनन गर्दै आएको थियो।

बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका साथै आयोजनाका संरचनाको अवस्थाबारे पनि उत्खनन र अध्ययन भइरहेको छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | ०८:४३:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया