माथिल्लो त्रिशूली-१ मा गहिरिँदो संकट : ५५१ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङमा फसेको आशंका
जलसरोकार
काठमाडौं : भोटेकोशी बाढी आएको १० दिन बितिसक्दा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन रहेका ५५१ जनाको अवस्था अझै अज्ञात छ। तीमध्ये ११५ जना हेडवर्क्स तथा मुख्य सुरुङ क्षेत्रमा फसेको आशंका गरिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणअनुसार आयोजनामा बाढी आउनुअघि प्रवर्द्धक, परामर्शदाता तथा विभिन्न निर्माण कम्पनीका गरी ठूलो संख्यामा जनशक्ति कार्यरत थियो। बाढीपछि उनीहरूमध्ये ५५१ जना सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीनमध्ये ११५ जना हेडवर्क्स तथा मुख्य सुरुङ क्षेत्रमा रहेको आशंका गरिएपछि खोजी तथा उद्धारका लागि त्यही क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। तर भीषण बाढीले आयोजनाको संरचना र पहुँचमा पुर्याएको क्षतिका कारण उद्धार टोलीका लागि भूमिगत संरचनाभित्र पुग्नु चुनौतीपूर्ण बनेको छ।
पछिल्लो खोजीका क्रममा ६ जनाको शव फेला परेको इप्पानको विवरणमा उल्लेख छ। ती शवलाई सल्टेटार क्षेत्रमा ल्याइएको भए पनि शव छुट्याउन नसक्ने अवस्थामा रहेकाले पहिचान हुन बाँकी रहेको जनाइएको छ।
उद्धारका लागि कोरियाली, शेर्पा, सर्भे तथा ड्रोन टोली समेत परिचालन गरिएको छ। विशेष क्यामेरा तथा बाढीपछि प्राप्त विभिन्न उपकरणसमेत प्रभावित क्षेत्रमा लगिएको विवरणमा उल्लेख छ। आयोजनाले विभिन्न उद्धार मेसिन तथा उपकरणसमेत आयोजनास्थलमा पुर्याएको जनाएको छ।
माथिल्लो त्रिशूली-१ मा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेको र हालसम्म ८७६ जनाको उद्धार गर्न सकिएको विवरण पनि छ। यसले आयोजनामा ठूलो संख्यामा मानिसलाई सुरक्षित बाहिर निकाल्न सकिए पनि अझै ठूलो संख्या सम्पर्कविहीन रहेको देखाउँछ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीका व्यवस्थापन टोलीले गृह सचिवसँग भेट गरी उद्धारको अवस्थाबारे जानकारी गराउनुका साथै थप आवश्यक उपकरण तथा मेसिन आयोजनास्थलसम्म लैजान सहजीकरण गर्न आग्रह गरेका छन्। गृह सचिवले आवश्यक उपकरण तत्काल पठाउने प्रतिबद्धता जनाएको विवरणमा उल्लेख छ।
१० दिन बितिसक्दा पनि ५५१ जनाको अवस्था पत्ता नलाग्नु र ११५ जना मुख्य सुरुङ तथा हेडवर्क्स क्षेत्रमा फसेको आशंका कायमै रहनुले माथिल्लो त्रिशूली-१ को उद्धारलाई भोटेकोशी बाढीपछिको सबैभन्दा गम्भीर खोजी अभियानमध्ये एक बनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ को सुरुङबाट विदेशी नागरिकको जीवित उद्धार
-
१० दिन बित्दा पनि रसुवागढीको विद्युत्गृहमा पुग्न सकेन मिनी एक्साभेटर
-
उद्धार सफल भएपछि प्राधिकरणका इन्जिनियरले सम्झिए श्रीराम न्यौपानेलाई : ‘फोटो खिच्न मात्र गएका थिए’ भन्ने आरोपमाथि प्रश्न
-
रसुवागढीको भूमिगत रहस्य : ९३ जना अझै सम्पर्कविहीन, विद्युत्गृहमा कति फसे यकिन छैन
-
माथिल्लो त्रिशूली-१ मा गहिरिँदो संकट : ५५१ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङमा फसेको आशंका
-
बाढी आएको १० दिन बितिसक्दा पनि अझै ९३६ जना सम्पर्कविहीन