चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी
जलसरोकार
काठमाडौं : चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारका क्रममा सुरुङभित्रबाट आएको चिसो हावा र आवाजको प्रतिध्वनिले उनीहरू सकुशल हुन सक्ने आशा बढाएको छ। विद्युतगृहसम्म पुग्न अब करिब १०० मिटर मात्र बाँकी रहेको जानकारी दिइएको छ।
पूर्व चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध-निर्देशक तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहिसकेका पूर्व ऊर्जामन्त्री
कुलमान घिसिङले चिलिमे उद्धारस्थलबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताएका छन्।
उनले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्रबाट आवाज पठाउँदा प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको जानकारी दिएका छन्।
‘त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,’ घिसिङले फेसबुकमा लेखेका छन्।
उनका अनुसार अहिले उद्धार टोलीलाई भूमिगत विद्युतगृहसम्म पुग्न करिब १०० मिटर दूरी पार गर्न बाँकी छ। उद्धारको यस चरणमा प्रत्येक मिटरको प्रगतिले नयाँ आशा जगाइरहेको उनले उल्लेख गरेका छन्।
घिसिङले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालन गरेको अनुभवका आधारमा आफू उद्धार कार्यमा सहभागी भई टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको पनि बताएका छन्।
आज सुरुङसम्म एक्स्काभेटर पुग्ने सम्भावना
स्याफ्रुबेंसीतर्फबाट एक्स्काभेटरमार्फत सुरुङसम्म पुग्ने पहुँचमार्ग निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको घिसिङले बताएका छन्।
उनका अनुसार आजसम्म सुरुङमा एक्स्काभेटर पुग्ने सम्भावना छ। एक्स्काभेटर र लोडर सुरुङसम्म पुगेपछि लेदो, बालुवा र ढुंगा हटाउने काम थप तीव्र हुने र उद्धार कार्यले गति लिने अपेक्षा गरिएको छ।
‘उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ,’ घिसिङले उल्लेख गरेका छन्।
उद्धार टोलीलाई धन्यवाद
घिसिङले कठिन र संवेदनशील परिस्थितिमा उद्धारमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्।
उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उद्धार कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै सुरुङभित्र रहेका सबै व्यक्तिको सकुशल उद्धार होस् भन्ने कामना गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी
-
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन