सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवागढीको भूमिगत रहस्य : ९३ जना अझै सम्पर्कविहीन, विद्युत्‌‌गृहमा कति फसे यकिन छैन

जलसरोकार
शनिबार, भदौ २०, २०८३ | ११:५७:३५ बजे

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीको १० दिन बितिसक्दा पनि रसुवागढी जलविद्युत्‌‌ आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन छन्। अझ गम्भीर पक्ष के छ भने तीमध्ये भूमिगत विद्युत्‌‌गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणअनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत्‌‌ आयोजना सञ्चालनमा रहेको छ। बाढीपछि आयोजनाका विभिन्न संरचनामा कार्यरत ठूलो संख्याका मानिस सम्पर्कविहीन भएका छन्। तर उनीहरू भूमिगत विद्युत्‌‌गृहको कुन भागमा छन् वा अन्यत्र सुरक्षित स्थानमा पुगेका छन् भन्ने स्पष्ट हुन सकेको छैन।

यसबीच रसुवागढीको घटनाले भूमिगत संरचनाभित्र फसेका व्यक्तिको अवस्था बुझ्न नयाँ प्रश्न पनि खडा गरेको छ। बाढी आएको दुई दिनपछि चार जना भूमिगत डिसेन्डरबाट आफैं बाहिर निस्किएर उद्धार भएका थिए। त्यस्तै तीन जना सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।

यसले बाढीको चपेटामा परेका सबै व्यक्ति एउटै स्थानमा फसेका छन् भन्ने निष्कर्ष निकाल्न नसकिने देखाउँछ। भूमिगत संरचनाभित्र रहेका मानिसहरू पानी र लेदोको अवस्था हेरेर फरक–फरक स्थानमा पुगेका हुनसक्ने भए पनि ९३ जनाको वास्तविक अवस्था भने अझै अज्ञात छ।

उपकरण आयोजनास्थलसम्मै पुग्न सकेन

रसुवागढीमा उद्धारको अर्को ठूलो समस्या भारी मेसिनरी तथा आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउन नसक्नु बनेको छ।

इप्पानको पछिल्लो विवरणअनुसार आयोजनामा मेसिनरी पुर्‍याएर विद्युत्‌‌गृहमा फसेकाहरूको खोजी सुरु गर्न शुक्रबारसम्म पनि सम्भव भएको थिएन। लगातार बढिरहेको नदीको पानीको सतह र खराब मौसमले उपकरण लैजाने काममा अवरोध पुर्‍याइरहेको छ।

उद्धारका लागि आवश्यक मेसिनरी तथा अन्य उपकरणहरू त्रिशूली हुँदै धुन्चेसम्म पुर्‍याइए पनि आयोजनास्थलसम्म लैजान सकिएको छैन। धुन्चेबाट आयोजनास्थल पुगेर साँझ पुनः धुन्चे फर्किनुपर्ने अवस्थाले पनि उद्धार टोलीलाई थप कठिनाइ भइरहेको छ।

यही कारण आयोजनाको जर्गिङ क्षेत्र रहेको अग्लो स्थानमा अस्थायी शिविर बनाएर उद्धार टोलीलाई त्यहीँ राख्ने तयारी गरिएको छ, ताकि टोलीले आयोजनास्थल पुगेर तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन सकोस्।

रसुवागढीको घटनाले बाढीपछि भूमिगत जलविद्युत्‌‌ संरचनामा उद्धार कति जटिल बन्न सक्छ भन्ने देखाएको छ। बाहिरबाट हेर्दा बाढीको पानी घट्दै गए पनि भूमिगत विद्युत्‌‌गृहभित्रको वास्तविक अवस्था, पानी र लेदोको अवस्था तथा सम्पर्कविहीन मानिसहरू कुन स्थानमा छन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

चार जना कामदार बाढी आएको दुई दिनपछि भूमिगत डिसेन्डरबाट आफैं बाहिर निस्कन सफल भएको घटनाले भने आशाको ठाउँ जीवितै राखेको छ। ९३ जनाको अवस्था पत्ता लगाउन अब उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौती भूमिगत संरचनासम्म सुरक्षित पहुँच बनाउनु र आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउनु बनेको छ।

प्रकाशित मिति : शनिबार, भदौ २०, २०८३ | ११:५७:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया