माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी
जलसरोकार
काठमाडौं : बाढी प्रभावित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको क्षेत्रमा जारी उत्खननका क्रममा थप दुई आवासीय भवन पनि फेला परेका छैनन्। बी-१ र बी-२ भवन रहेको स्थानमा जगको तहसम्म उत्खनन गर्दा चकनाचुर फलामे डन्डी र कंक्रिटका टुक्राबाहेक कुनै अक्षुण्ण संरचना नभेटिएपछि कम्पनी अब बाँकी भवन रहेको क्षेत्रमा खोजी अघि बढाउने तयारीमा पुगेको छ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले दिएको जानकारीअनुसार बी-१ र बी-२ आवासीय भवन रहेको क्षेत्रमा बुधबार बिहान करिब साढे ७ बजेदेखि उत्खनन सुरु गरी साँझ करिब ६ बजेसम्म काम गरिएको थियो।
दिनभरको उत्खननपछि दुवै भवनको जगको तहसम्म पुगिएको भए पनि त्यहाँ कुनै पनि अक्षुण्ण संरचना भेटिएन। उत्खननका क्रममा केही चकनाचुर फलामे डन्डी र कंक्रिटका टुक्रा मात्र फेला परेको ढुंगेलले बताएका छन्।
यससँगै बी-१ र बी-२ दुवै आवासीय भवन पनि उक्त स्थानमा नरहेको निष्कर्षमा कम्पनी पुगेको छ।
यसअघि आयोजनाको कार्यालय भवन रहेको क्षेत्रमा गरिएको उत्खननमा पनि जगको तहसम्म पुग्दा कुनै अक्षुण्ण संरचना भेटिएको थिएन। केही चकनाचुर संरचनाका अवशेष मात्र भेटिएपछि कार्यालय भवन पनि बाढीपछिको अवस्थामा त्यहाँ नरहेको निष्कर्षमा पुगेको थियो।
अब कम्पनीले ‘डी’ भवन रहेको क्षेत्रमा उत्खनन अघि बढाउने जनाएको छ। सम्भव भए ‘ए-१’ र ‘ए-२’ भवन रहेको क्षेत्रको पनि केही भागमा उत्खनन गरिने ढुंगेलले जानकारी दिएका छन्।
तर ए-१ र ए-२ भवन रहेको क्षेत्रको उल्लेख्य भागमाथिबाट अहिले नदी बगिरहेकाले ती संरचनाको खोजी र अवस्थाबारे निष्कर्षमा पुग्नु थप चुनौतीपूर्ण रहेको छ।
ढुंगेलका अनुसार बाँकी रहेका डी, ए-१ र ए-२ भवनको अवस्थाबारे पनि बिहीबार वा त्यसको भोलिपल्टसम्म कुनै निष्कर्षमा पुग्न सकिने अपेक्षा गरिएको छ।
बाढीपछि माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनाको कार्यालय तथा कर्मचारी आवास रहेको क्षेत्र ठूलो मात्रामा माटो, ढुंगा र अन्य भग्नावशेषले पुरिएको छ। अहिले भारी उपकरण प्रयोग गरी क्रमशः भवन रहेको स्थान पहिचान गर्दै गहिरो उत्खननमार्फत संरचनाको अवस्थाबारे यकिन गर्ने प्रयास भइरहेको छ।
कम्पनीका अनुसार हालसम्मको खोज तथा उत्खनन कार्य अत्यन्तै चुनौतीपूर्ण, श्रमसाध्य र अनिश्चिततापूर्ण रहेको छ। यद्यपि कार्यालय भवनपछि बी-१ र बी-२ आवासीय भवनको अवस्थाबारे पनि निष्कर्षमा पुगेपछि अब बाँकी संरचनाको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्याउन सुरुङसम्म अब ३५ मिटर बाँकी
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि
-
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
-
सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न
-
९१ जलविद्युत् कम्पनीको वित्तीय र्याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो