सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | ०९:२८:३२ बजे

 

म्याग्दी : ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ जोड्ने सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो ।

आयोजना प्रमुख ज्योतकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । उक्त सुरुङको कुल लम्बाइ तीन हजार २८३ दशमलव ३२ मिटर रहेकामा हालसम्म एक हजार ९७३ मिटर मुख्य सुरुङ निर्माण सकिएको उनले जानकारी दिए ।

‘बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ,’ आयोजना प्रमुख केसीले भने ।

आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ । निर्माण कार्यलाई तीव्रता दिइएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको केसीले बताए । विसं २०८० चैत १९ गते सम्झौता भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्रयाक्टर विसं २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो । ठेकेदारले विसं २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण सुरु गरेको हो ।

आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि तीव्रता दिइएको छ । यद्यपि, बर्खायाममा आयोजनास्थल पुग्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माण प्रभावित भएको जनाइएको छ ।

आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँ लगानी जुटाइनेछ । आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेसनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्‌गृहसम्मको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट विद्युत्गृहसम्म पानी खसाल्न ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि परामर्शदाता रहेको आयोजनामा मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया जारी छ । अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | ०९:२८:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया