बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पु-याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।
उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए । बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ ।
नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।
उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउछन् ।
अध्यक्ष कुँवरले भने, “धेरै सम्भावना हुँदा हुँदै विगतमा नरसिंहकोट ओझेलमा थियो तर अहिले चर्चामा आएको छ, अहिले प्रत्येक दिन पर्यटकको आगमन हुन्छ, बिदाको दिन त अझ बढी पर्यटक घुमघामका लागि यहाँ आउने गर्छन्, अहिले हामीहरुले पनि यस क्षेत्रको प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएका छौँ ।”
नरसिंहकोटबाट बुर्तिबाङ बजारसहित बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खलाहरु र उच्चपहाडी क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।
खानेपानी सञ्चित गर्न निःशुल्क ट्याङ्की
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ४० प्रतिशत मात्रै विद्युत् उत्पादन
वर्षान्त २०८१ : गतिमा ऊर्जा क्षेत्र
के पहाडी मूलका नेपालीहरु भारतविरोधी भएकै हुन् त ?
माथिल्लो तमोर (२८५ मेगावाट) ले भित्र्यायो विश्वकै ठूलो इलेक्ट्रो मेकानिकल कम्पनी
'ग्रीन ट्याक्सोनोमी' र 'क्लाइमेट फाइनान्सिङ' बारे अध्ययन गर्न इप्पान र पायोनियर ल बीच समझदारी