बाढीका कारण ढुवानी भाडा बढ्यो, काठमाडौंमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा
जलसरोकार
काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको ढुवानी भाडा बढेको छ। नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था आएपछि प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप ढुवानी खर्च कायम गरेको जनाएको छ।
संघका अनुसार भदौ १४ गते बिहान कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको बिक्री वितरण प्रभावित भएको थियो। सडक पूर्णरूपमा अवरुद्ध भएपछि उपत्यकामा ग्यासको नियमित आपूर्ति सहज बनाउन संघ र नेपाल आयल निगमबीच सोही दिन बैठक बसेको थियो।
बैठकले काठमाडौं उपत्यकामा बजार व्यवस्थापन गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उपत्यकाका ग्यास उद्योगले ती क्षेत्रमा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउनुपर्ने अवस्था आएको संघले जनाएको छ।
नेपाल आयल निगमको पुरानो पत्रलाई आधार मान्दै संघले हेटौँडास्थित सहरा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा पर्ने र नियमअनुसार लाग्ने करसहित उक्त रकम १०५ रुपैयाँ ३८ पैसा कायम हुने जनाएको छ।
संघको भदौ १८ गते सम्पन्न ३१औँ वार्षिक साधारणसभाले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँको मूल्यमा उक्त थप ढुवानी भाडा जोडेर अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा मात्र बिक्री वितरण गर्न काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई अनुरोध गरेको छ।
संघले विषम परिस्थितिको फाइदा उठाउँदै मूल्य बढाउन नहुने भन्दै तोकिएको रकमभन्दा बढीमा ग्यास बिक्री नगर्न उद्योगी तथा बिक्रेतालाई आग्रह गरेको छ। साथै नयाँ सिलिन्डरको बजारीकरण नगर्न–नगराउनसमेत संघले ग्यास उद्योगी तथा बिक्रेतालाई अनुरोध गरेको छ।
बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। वैकल्पिक मार्गबाट ढुवानी गर्नुपर्दा लागत बढेको भए पनि उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले संघले मूल्य सीमा तोकेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण ढुवानी भाडा बढ्यो, काठमाडौंमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी