सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जलसरोकार
शुक्रबार, भदौ २६, २०८३ | ०९:४३:२० बजे

 

काठमाडौँ : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो । यसअनुसार कम्पनीले सर्वसाधारणबाट ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयरका लागि आवेदन माग गरेको छ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, २० हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँडफाँट गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि २४ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत समेत आईपीओमा आवेदन दिन सकिनेछ ।

 

 

प्रकाशित मिति : शुक्रबार, भदौ २६, २०८३ | ०९:४३:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया