सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, लगानीकर्ताको चासो कस्तो ?

जलसरोकार
मंगलबार, फागुन २६, २०८२ | ०९:३३:१२ बजे

 

काठमाडौँ  : जलविद्युत् क्षेत्रमा सक्रिय शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ। फागुन १७ गतेदेखि खुला गरिएको उक्त आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। त्यसपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरिएको हो। जलविद्युत् क्षेत्रमा विकास भइरहेका परियोजनाहरू पुँजीबजारमार्फत लगानी जुटाउने क्रम बढ्दै जाँदा यस्ता आईपीओले लगानीकर्ताको ध्यान तानेका छन् ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि अनुमति पाएको थियो। यसमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। त्यस्तै १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

हाल दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा यसको कुल रकम १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर हुन्छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशनका लागि गरिएको रेटिङ मूल्याङ्कनमा कम्पनीलाई ‘डबल बी’ श्रेणी प्रदान गरिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत् आयोजना हाल व्यावसायिक उत्पादनमा प्रवेश गरिसकेको छ। उक्त आयोजनाको कुल लागत करिब १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र करिब २९ वर्षभन्दा बढी अवधि बाँकी रहेको कम्पनीले जनाएको छ ।

आर्थिक मूल्याङ्कनअनुसार परियोजनाबाट लगानी फिर्ता हुने सामान्य अवधि करिब ८.९२ वर्ष रहने अनुमान गरिएको छ भने डिस्काउण्ट गरिएको आधारमा लगानी फिर्ता अवधि करिब १३.६४ वर्ष रहने उल्लेख छ। कम्पनीका अनुसार उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु भइसकेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

 

 

प्रकाशित मिति : मंगलबार, फागुन २६, २०८२ | ०९:३३:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया