रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौँ : रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पुस १३ गतेदेखि स्थानीयवासीका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो ।
उक्त आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दा तथा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी (Care-NP BB) इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यस आयोजनाको विद्युत् अनुमतिपत्र (लाइसेन्स) अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ ।
सुपर चेपे जलविद्युत् आयोजनाबाट कम्पनीले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् बिक्री गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, प्रभु क्यापिटलले सञ्चालन गरेको https://ipoapply.prabhucapital.com अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद आवेदन फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार