माथिल्लो त्रिशूली थ्री 'बी' उद्धारमा तीन मिनी एक्स्काभेटर परिचालन, हेडरेस सुरुङबाट ठूलो उपकरण लैजाने तयारी
जलसरोकार
काठमाडौं । बाढीपछि सम्पर्कविहीन रहेका त्रिशूली जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारको खोजीलाई तीव्र पार्न तीनवटा मिनी एक्स्काभेटर परिचालन गरिएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द ढुंगेलका अनुसार ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउन कठिन भएपछि तत्कालका लागि मिनी एक्स्काभेटरबाट उत्खनन तथा खोजी अघि बढाइएको हो।
ढुंगेलले हिजो बेलुकी दिएको जानकारीअनुसार, हिजो बिहान करिब ७ः३० बजेदेखि एउटा मिनी एक्स्काभेटर र करिब ५० जना सुरक्षाकर्मीको टोलीले उत्खनन सुरु गरेको थियो। त्यसपछि थप दुईवटा मिनी एक्स्काभेटर घटनास्थलमा पुर्याइएको थियो।
“हिजो बिहान करिब ७ः३० बजेदेखि एउटा मिनी एक्स्काभेटर र करिब ५० जना सुरक्षाकर्मीबाट उत्खनन सुरु गरेका थियौँ। आज थप दुईवटा मिनी एक्स्काभेटर घटनास्थलमा पुर्याउन सफल भएका छौँ,” ढुंगेलले भने।
थप दुई उपकरण पुगेपछि तीनवटै मिनी एक्स्काभेटरलाई एकसाथ परिचालन गरिएको थियो। ती उपकरणले केही समय संयुक्त रूपमा काम गरे पनि हिजो कार्यालय भवनको माथिल्लो भाग भने पत्ता लगाउन नसकिएको उनले बताए।
“तीनवटै मिनी एक्स्काभेटरलाई एकसाथ चलाएर काम गरिरहेका छौँ। आज दुर्भाग्यवश कार्यालय भवनको माथिल्लो भाग फेला पार्न सकिएन। तर भोलि कम्तीमा कार्यालय भवनको माथिल्लो भागसम्म पुग्न सकिने हाम्रो दृढ अपेक्षा छ,” उनले भने।
ठूलो एक्स्काभेटर पुर्याउनु मुख्य चुनौती
खोजी अभियानसँगै आयोजनाको प्राथमिकता ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु रहेको ढुंगेलले बताए। माथिल्लो क्षेत्रबाट ठूलो एक्स्काभेटर ल्याउने प्रयास भइरहे पनि त्यसका लागि निकै कठिनाइ भइरहेको उनको भनाइ छ।
“अहिले हाम्रो प्राथमिकता ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु हो। माथिल्लो क्षेत्रबाट एउटा ठूलो एक्स्काभेटर ल्याउन हामीले निकै जोड दिइरहेका छौँ, तर यो अत्यन्तै कठिन भइरहेको छ,” उनले भने।
माथिल्लो क्षेत्रबाट उपकरण ल्याउन कठिन भएपछि आयोजनाले हेडरेस सुरुङलाई वैकल्पिक पहुँचमार्गका रूपमा प्रयोग गर्ने तयारी गरेको छ।
ढुंगेलका अनुसार आज हेडरेस सुरुङमार्फत ठूलो एक्स्काभेटर घटनास्थलसम्म लैजाने प्रयास गरिनेछ। त्यसका लागि सुरुङभित्रका अवरोध हटाएर एक्स्काभेटर लैजान मिल्ने बाटो तयार पार्न कामदारसँगै सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
“भोलि हेडरेस सुरुङ प्रयोग गरेर एक्स्काभेटर भित्र्याउने प्रयास गर्नेछौँ। सुरुङ सफा गरेर एक्स्काभेटर लैजान मिल्ने बाटो बनाउन कामदारसँगै सशस्त्र प्रहरीको टोली परिचालन गरेका छौँ,” ढुंगेलले भने।
यसरी मिनी एक्स्काभेटरबाट तत्काल खोजी तथा उत्खननलाई निरन्तरता दिँदै ठूलो एक्स्काभेटरका लागि वैकल्पिक पहुँचमार्ग खोल्ने प्रयास पनि अघि बढाइएको छ।
कार्यालय भवनको माथिल्लो भागसम्म पुग्न सकिएमा त्यसपछि भवनभित्र तथा आसपासको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
“आशा छ, भोलि केही परिणाम आउनेछ,” ढुंगेलले भनेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको नयाँ पहल : भूमिगत संरचनाको नक्सा सार्वजनिक गर्दै विश्वका विज्ञसँग उपाय माग