सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली थ्री 'बी' मा हिजोदेखि तीन ठूला एक्स्काभेटर परिचालन, आज साँझसम्म भवनको अवस्थाबारे निष्कर्षमा पुग्ने अपेक्षा

जलसरोकार
मंगलबार, भदौ २३, २०८३ | ०६:४०:४३ बजे
फाइल तस्वीर

काठमाडौं : भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीनवटा ठूला एक्स्काभेटर परिचालन गरी बाढीले पुरिएको क्षेत्रको उत्खनन तीव्र पारिएको छ। हिजो सोमबार  बिहान करिब १०ः३० बजेदेखि सुरु भएको उत्खननमा दिनभर राम्रो प्रगति भए पनि साँझसम्म कार्यालय भवन तथा बी-१ र बी-२ क्वार्टर भवनको कुनै चिन्ह भेटिएको छैन।

त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले जलसरोकारलाई दिएको जानकारीअनुसार, तीनवटा ठूला एक्स्काभेटरलाई आयोजनास्थलसम्म पुर्‍याउन समय लागेपछि हिजो  बिहानदेखि ती उपकरण परिचालन गरी उत्खनन सुरु गरिएको हो।

एक्स्काभेटरहरूले अहिले नदी नजिकको क्षेत्रबाट उत्खनन गर्दै कार्यालय भवन तथा बी-१ र बी-२ क्वार्टर रहेको क्षेत्रतर्फ अघि बढिरहेका छन्।

‘आज राम्रो प्रगति भएको छ, तर दुर्भाग्यवश अहिलेसम्म कुनै पनि भवनको चिन्ह भेटिएको छैन,’ ढुंगेलले भने।

उनका अनुसार आज  साँझसम्म उत्खननबाट एउटा स्पष्ट निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

‘भोलि साँझसम्म भवन भेटिन्छन् वा ती त्यहाँ छैनन् भन्ने निष्कर्षमा पुग्छौँ भन्ने अपेक्षा छ,’ ढुंगेलले जलसरोकारलाई दिएको जानकारीमा भनेका छन्।

सुरुङमार्फत पुर्‍याइएका थिए तीन ठूला एक्स्काभेटर

यसअघि आयोजनास्थलमा भारी उपकरण पुर्‍याउन नसक्दा खोजी तथा उत्खनन कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन। आयोजनास्थलतर्फको पहुँचमार्ग बाढीबाट प्रभावित भएपछि भग्नावशेष हटाउन आवश्यक ठूला एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउनु नै प्रमुख चुनौती बनेको थियो।

कम्पनीले गत आइतबार  साँझ सुरुङ प्रयोग गरी तीनवटा ठूला एक्स्काभेटर आयोजनास्थलनजिक पुर्‍याउन सफल भएको थियो। त्यसपछि आवश्यक पहुँच तयार गरी हिजो  बिहानदेखि ती एक्स्काभेटरले प्रत्यक्ष रूपमा भग्नावशेष उत्खनन थालेका हुन्।

ठूला एक्स्काभेटर परिचालन हुनुअघि आयोजनास्थलमा रहेका माटो, लेदो र ठूलो परिमाणको गेग्रान हटाउन साना उपकरण र सीमित क्षमताको मेसिन प्रयोग गर्नुपर्दा खोजी कार्यले अपेक्षित गति लिन सकेको थिएन।

भवन भेटिन्छन् कि बाढीले बगायो?

अब उत्खनन कार्यालय भवन तथा बी-१ र बी-२ क्वार्टर रहेको अनुमानित क्षेत्रतर्फ अघि बढेपछि खोजी कार्य महत्वपूर्ण चरणमा पुगेको छ।

हिजो  दिनभरको उत्खननमा भवनको कुनै चिन्ह नदेखिए पनि कम्पनीले आज साँझसम्म थप उत्खननपछि अवस्थाबारे निष्कर्षमा पुग्न सकिने अपेक्षा गरेको छ।

अर्थात्, बाढीले पुरिएका संरचना भग्नावशेषभित्रै छन् वा ती संरचनालाई बाढीले बगाएर अन्यत्र पुर्‍याएको हो भन्ने विषयमा आज साँझसम्म थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ। माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनामा पनि बाढीले पुर्‍याएको व्यापक क्षतिका कारण खोजी कार्य जटिल बनेको थियो।

तीनवटा ठूला एक्स्काभेटर आयोजनास्थलमा पुगेर प्रत्यक्ष उत्खननमा परिचालित भएपछि भने अब आयोजनास्थलमा रहेका कार्यालय तथा आवासीय भवनको वास्तविक अवस्थाबारे महत्वपूर्ण निष्कर्ष आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंगलबार, भदौ २३, २०८३ | ०६:४०:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया