सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा क्षेत्रका तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख रुपैयाँ सहयोग

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १६:११:११ बजे

 

काठमाडौं : राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड १ लाख रुपैयाँ र ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

एक कार्यक्रमबीच सम्बन्धित संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

यसअघि मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सदस्य कम्पनीहरूबाट संकलित १३ करोड रुपैयाँ मन्त्री श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय विपद्को समयमा ऊर्जा क्षेत्रले देखाएको ऐक्यबद्धताले संकटको घडीमा सबै एकजुट भएर उभिएको सन्देश दिएको बताए । 

विपद्का समयमा राज्यका विभिन्न निकाय तथा निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप बल पुग्ने उनकाे भनाइ थियो।

‘ऊर्जा क्षेत्रबाट संकलित रकम ऊर्जा क्षेत्रमै आइपरेको विपद्मा सहयोगका रूपमा परिचालन हुनु अझै सह्रानीय विषय हो,’ मन्त्री श्रेष्ठले भने । 

उनले विपद्का बेला संस्थागत सामाजिक उत्तरदायित्वभन्दा माथि उठेर मानवीय सहयोगका लागि अघि बढ्नुले ऊर्जा क्षेत्रको सामाजिक प्रतिबद्धता समेत उजागर गरेको बताए । 

मन्त्री श्रेष्ठले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारका तर्फबाट आवश्यक सबै प्रयास जारी रहेको जानकारी दिए । 

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १६:११:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया