जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यस्ता पारदर्शी शर्त राखिएका थिए कर्णाली चिसापानी र सुनकोसी तेस्रोको परामर्शदातृ कम्पनी छनौटमा

जलसरोकार
बुधबार, मंसिर २६, २०८१ | १४:१३:५३ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले हालसम्म पहिचान भएकामध्ये देशकै सबैभन्दा ठूलो कर्णाली चिसापानी (१० हजार ८ सय मेगावाट) र सुनकोसी तेस्रो (६८३ मेगावाट) को अध्ययन प्रक्रिया अघि बढाएको छ । 
प्राधिकरणको आयोजना विकास विभागले विश्वव्यापी रुपमा गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत परामर्शदाता छनौटको प्रक्रिया अघि बढाएको हो । 
प्राधिकरणका अनुसार कर्णाली चिसापानीमा दुईवटा अन्तर्राष्ट्रिय परामर्शदाता योग्य भएका छन् । यसमा डोल्सार र पिनि–टेमेल्सु संयुक्त उपक्रम छन् ।
त्यसैगरी सुनकोसी तेस्रोमा तीनवटा कम्पनीको प्रस्ताव परेको छ । डोल्सार–स्मेक संयुक्त उपक्रम, ट्रयाक्टवेल जर्मनी र ट्रयाक्टवेल इण्डिया संयुक्त उपक्रम र फिश्चनर–पिनि–टेमल्सु छन् ।
प्राधिकरणले सार्वजनिक खरिद ऐन तथा प्राधिकरणको आफ्नै आर्थिक प्रशासन विनियमावलीअनुसार पहिलोपटक प्रस्ताव आव्हान गर्दा कर्णाली चिसापानीमा सात कम्पनीका प्रस्ताव परेका थिए । पहिलोपटक प्रस्ताव आव्हान गर्दा सार्वजनिक खरिद ऐन अनुसार कम्तीमा तीनवटक कम्पनी योग्य भएको हुनुपर्छ । तर तीनभन्दा कम योग्य भएकाले पुन: प्रस्ताव मागिएको थियो । 
दोस्रोपटकको प्रस्ताव आव्हानमा कर्णाली चिसापानीको अध्ययनका लागि पाँच कम्पनीका प्रस्ताव पर्दा  दुईवटा कम्पनी योग्य भए ।

सार्वजनिक खरिद ऐनको परिच्छेद ४ दफा ३०, सार्वजनिक खरिद नियमावलीको परिच्छेद ६ को नियम ७० र प्राधिकरणको आर्थिक प्रशासन विनियमावली, २०६८ को विनियम १६३ अनुसार पुनः परेको प्रस्तावको उपर कारबाही गर्दा लघु सूचीमा दुई कम्पनी योग्य देखिएको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणले प्रतिस्पर्धाको दायरा बढाउन ठेक्काका शर्तहरुलाई खुकुलो पारेको थियो । कर्णाली चिसापानीका लागि जडित क्षमताको ४.६ प्रतिशत मात्र अर्थात् ५ सय मेगावाटको जलविद्युत् आयोजनामा काम गरेको अनुभव हुनुपर्ने, २७० मिटर बाँधको उचाइ भएको कर्णाली चिसापानीमा १३० मिटरसम्म (४८ प्रतिशतभन्दा कम) को काम गरेको हुनुपर्ने शर्त राखिएका थिए ।
प्राधिकरणले विश्वमा विगत सात वर्षको पछिल्लो अवधिमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको अध्ययन गरेको थियो । ‘उक्त अवधिमा विश्वभर ५ सय मेगावाटका जलविद्युत् आयोजना ३५ वटा बनेको पाइयो,’ विभागका एक इन्जिनियरले जलसरोकारसँग भने, ‘हामीले विश्व बजारको सर्भेक्षण गर्दा ५ सय मेगावाटका करिब ३५ वटा मात्र फेला पार्यौं, १० हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना डीपीआर वा निर्माण भएको शर्त राखिएको भए एउटा पनि प्रस्ताव पर्दैनथ्यो ।’
कर्णाली चिसापानीको अध्ययन गर्ने परामर्शदाताले ५ सय मेगावाट क्षमताको जलविद्यु टेण्डर डकुमेन्ट तयार गरेको हुनुपर्ने, १६ मिटर चौडाई भएको भूमिगत विद्युत् गृह र कुन शर्तमा कति अंक पाउने समेत प्राधिकरणले वेभ साइटमा राखेर पारदर्शी प्रक्रिया अवलम्बन गरेको थियो । 
परेका प्रस्तावहरुको विस्तृत प्राविधिक मूल्यांकन गरी लघु सूचीमा राखिएको ती अधिकारीले बताए । विस्तृत प्राविधिक मूल्यांकनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नेहरुमात्र लघु सूचीमा राखिएको हो । 
प्राधिकरणले कर्णाली चिसापानीमा प्रस्ताव परेका दुई कम्पनीको अब पहिला प्राविधिक र आर्थिक प्रस्ताव माग्ने र उनीहरुले पाएको अंक खोलेपछि लघु सूचीमा रहेका २ कम्पनीहरुलाई बोलाएर वित्तीय प्रस्ताव खोल्ने तयारी गरेको छ । 
कर्णाली चिसापानीकोको अध्ययन २४ महिनाभित्र पूरा गर्ने गरी एक अर्ब रुपैयाँमा प्रतिस्पर्धा गराउन लागेको हो । 
त्यसैगरी सुनकोसी तेस्रोमा पछिल्लो सात वर्षको अवधिमा (सार्वजनिक खरिद ऐनअनुसार) लिड पार्टनरको अनुभव दुई सय मेगावाट जडित क्षमता भएको थ्रेसहोल्ड (शर्त) राखेको थियो । त्यसैगरी १८० मिटर बाँधको उचाइ रहेको सुनकोसी तेस्रोमा बाँधको उचाइका थ्रेसहोल्ड ११० मिटरको राखेको थियो ।
जडित क्षमता र बाँधको उचाइको थ्रेस होल्ड ६० प्रतिशत राख्दा थोरै कम्पनी पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी र सात वर्षको अवधिमा निर्माण भएको जलविद्युत् आयोजनाको सर्वेक्षण गरेको आधारमा तय गरिएको हो । टेण्डर डकुमेन्ट एक सय मेगावाटको बनाएको भए हुने शर्त थिए ।
यसमा पहिलोपटक प्रस्ताव आव्हान हुँदा  तीन कम्पनीको परेको हो । सुनकोसी तेस्रोको सम्भावित परामर्शदाता कम्पनीको लघु सूची पनि सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, प्राधिकरणको आर्थिक प्रशासन विनियमावलीका सोही दफा, नियम तथा विनियम अनुसार गरिएका हुन् । 
हाल यी दुबै आयोजनाका लागि परेका प्रस्तावहरुको प्राविधिक मूल्यांकन भइरहेको छ । 
यसअघि विद्युत् प्राधिकरणले जलाशययुक्त दूधकोशी (६७० मेगावाट) को बाँधको उचाइ १६० मिटर रहेकोमा अध्ययनका क्रममा परामर्शदाता नियुक्तको टेण्डर गर्दा बाँधको उचाइ जम्मा १०० मिटर (५० प्रतिशत) को भए पुग्ने शर्त राखेको थियो । 
त्यसैगरी माथिल्लो अरुण (१०६३ मेगावाट) को बाँधको उचाई १०० मिटर रहेकोमा अध्ययनका क्रममा परामर्शदाता छनौटको प्रस्ताव आव्हान गर्दा ५० मिटरसम्म (५० प्रतिशत) को जलविद्युत् आयोजनामा काम गरेको अनुभव चाहिने शर्त राखिएको थियो । 
अर्काे जलाशययुक्त उत्तर गंगा (८२८ मेगावाट) को अध्ययनका क्रममा परामर्शदाता कम्पनी छनौट गर्दा बाँधको उचाईको थ्रेसहोल्ड सय मिटर राखिएको थियो, जबकि उत्तर गंगाको बाँधको उचाइ २०० मिटर (५० प्रतिशत) छ ।
ऊर्जा मन्त्रालय अन्तर्गतको हाल ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जगदुल्ला (१०६ मेगावाट) को परामर्शदाता छनौट गर्दा ८० मेगावाटको जलविद्युत् आयोजना बनाएको अनुभव भए पुग्ने शर्त राखिएको थियो । 

प्राधिकरणले प्रतिस्पर्धाको दायरा बढाउन र परामर्शदातृ कम्पनीक अनुभव र योग्यता पारदर्शी  बनाउन आफ्नाे वेभसाइटमै Expression of Interest यसरी राखेको थियो  :

 


 

 

 

 

 

प्रकाशित मिति : बुधबार, मंसिर २६, २०८१ | १४:१३:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया