जल तथा ऊर्जा आयोगको बैठक तीन वर्ष सात महिनादेखि बसेन
जलसरोकार
काठमाडौं : मन नपरेका कर्मचारी मिल्काउने ‘डम्पिङ साइट’ बनाएको जल तथा ऊर्जा आयोगको बैठक तीन वर्ष सात महिनादेखि बस्न सकेको छैन ।
जल तथा शक्ति आयोग गठन, काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था, २०५५ को बुँदा नं. ४ मा आयोगको बैठक कम्तीमा वर्षको २ पटक बस्ने र अन्य बैठक आवश्यकताअनुसार अध्यक्षले जुनसुकै बखत बोलाउन सक्ने व्यवस्था छ ।
तर आयोग सचिवालयको ५९ औं बैठक २०७८ वैशाख १० पछि नबसेको महालेखापरीक्षकको ६२ औं प्रतिवेदनले औंल्याएको छ । सचिवालयको ५८ औं बैठक २०७३ भदौ २० गते भएको थियो । महालेखाले नियमित बैठक नबस्दा आयोग गठनको उद्देश्यपूरा हुन नसकेको उल्लेख गरेको छ ।
आयोगको अध्यक्ष ऊर्जा मन्त्री हुने व्यवस्था छ । २०७३ सालमा ऊर्जा मन्त्री जनार्दन शर्मा र २०७८ सालमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका पालामा नौ वर्षमा दुई पटक बैठक बसेको थियो ।
आयोगको बैठक नबस्नुमा ऊर्जा मन्त्रीहरुको जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासमा देखिएको उदासनीता मुख्य कारण हो । ‘पेलेर आयोगमा पठाइएका सचिवको जाँगरै हुँदैन,’ आयोगका एक अधिकारी भन्छन्, ‘अरु कर्मचारी पनि मिल्काइएका हुन्छन्, बैठक राख्न कसले जाँगर चलाउने ?’
आफू अनुकूलका कर्मचारीलाई आयोगबाट ऊर्जा तथा सिंचाई मन्त्रालय र विभागमा तान्ने र मन नपरेकाहरुलाई आयोगमा सरुवा गर्ने ऊर्जा मन्त्रीहरुको प्रवृत्ति छ ।
जलस्रोत तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित दृष्टिकोण÷आवधिक योजनामा समावेश गरिने नीति तथा उद्देश्यहरू निर्माणमा सम्बन्धित मन्त्रालयहरूलाई सहयोग प्रदान गर्ने आयोगको मुख्य उद्देश्य हो ।
आयोगले गर्ने भनी परिभाषित गरिएका कार्यहरुमा बहुउद्देयीय, ठूला र मध्यम स्तरका जलस्रोत आयोजनाहरुलाई नेपाल सरकारबाट स्वीकृत गर्नुअघि समीक्षा गर्ने, गराउने र कार्यान्वयनका लागि सिफारिस गर्ने भन्ने छ । तर सरकारले टनकपुर, महाकाली, पञ्चेश्वर, अरुण तेस्रो, माथिल्लो कर्णाली, पश्चिम सेती जस्ता आयोजना भारतलाई दिंदा आयोग सोध्दासमेत सोधेन ।
आयोगले २४ वर्षअघि विश्व बैंक र क्यानेडियन इन्टरनेशनल डेभलपमेन्ट एजेन्सीको आर्थिक सहयोगमा ‘राष्ट्रिय जलस्रोत रणनीति’ र त्यसैको आधारमा सन् २००५ मा ‘राष्ट्रिय जल योजना’ बनाएको थियो । उक्त जल योजनालाई सरकारले कार्यान्वयन भने गरेन ।
आयोगको स्थापना सन् १९७५ मा भएको थियो । आयोग निष्कियप्रायः रहेको सबुत उसले २०७५ साल फागुन २४ गतेयता एउटा पनि प्रेस विज्ञप्ति जारी नगरेबाट देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा