निर्यातको नारा, आयातको मार— छ महिनामा ८ खर्बको व्यापार घाटा
जलसरोकार
काठमाडौं : चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा (साउन-पुस) नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ। निर्यात वृद्धिदर आयातको तुलनामा उच्च देखिए पनि समग्र व्यापार घाटा अझै ठूलो छ।
व्यापार घाटा करिब ८ खर्ब
पहिलो छ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१५ प्रतिशतले बढी हो। आयात–निर्यात अनुपात अघिल्लो वर्षको ८.३२ बाट घटेर ६.६१ मा झरेको छ, जसले निर्यातको सापेक्षिक सुधार देखाउँछ।
कुन वस्तुले बढायो आयात ?
खनिज इन्धन (पेट्रोलियम पदार्थ) सबैभन्दा ठूलो आयात शीर्षक बनेको छ। खनिज इन्धनको आयात मात्र १ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसले व्यापार घाटामा ठूलो दबाब दिएको छ।
त्यसपछि:
- सवारीसाधन (रेल बाहेक)
- फलाम तथा फलामजन्य सामग्री
- विद्युतीय मेसिनरी तथा उपकरण
- प्लास्टिक तथा प्लास्टिकजन्य सामग्री
जस्ता वस्तुहरू उच्च आयात हुने शीर्षकमा छन्।
निर्यातमा कुन वस्तु अघि ?
निर्याततर्फ भने केही अध्यायहरूले सकारात्मक सन्देश दिएका छन्। विशेषगरी:
- वनस्पति घिउ तथा तेल
- कार्पेट तथा अन्य टेक्सटाइल फ्लोर कभरिङ
- तैयार खाद्य वस्तुहरू
- ऊन, धागो र गार्मेन्टसम्बन्धी वस्तुहरू
निर्यातमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्। यद्यपि अधिकांश अध्यायहरूमा आयात निर्यातभन्दा धेरै भएकाले व्यापार सन्तुलन अझै नकारात्मक नै छ।
संरचनात्मक समस्या कायमै
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१४ प्रतिशत मात्र रहेको छ। अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सा बढे पनि आयातप्रधान अर्थतन्त्रको संरचना कायमै रहेको देखिन्छ।
अर्थविद्हरूका अनुसार चालू वर्षको पहिलो छ महिनामा निर्यात वृद्धिदर उत्साहजनक भए पनि इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थको उच्च आयात ले व्यापार घाटा घट्न नदिएको हो। दीर्घकालीन रूपमा व्यापार घाटा घटाउन औद्योगिकीकरण, निर्यातमूलक उत्पादन र मूल्यवर्धनमा आधारित नीति अपरिहार्य रहेको उनीहरूको सुझाव छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता