सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले नष्ट गर्‍यो ७ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढीका पुराना नोट, नयाँ नोटको मौज्दात पनि बढ्यो

जलसरोकार
बुधबार, मंसिर ०२, २०८३ | १५:१५:१४ बजे

 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य बैंकनोट नष्ट गरेको छ। बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट सट्टाभर्ना तथा जम्मा गर्न ल्याइएका ती नोटलाई धुल्याएर ब्रिकेट बनाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विभिन्न दरका पुराना तथा चलनचल्तीमा पठाउन अयोग्य नोट धुल्याएर ब्रिकेट बनाइएको हो। यसरी नष्ट गरिएका नोट बजारमा पुनः चलनचल्तीमा नआउने गरी व्यवस्थापन गरिएको हो।

यसैबीच, मुलुकमा चलनचल्तीमा रहेको बैंकनोटको परिमाण पनि बढेको छ। २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म यस्तो रकम ६ दशमलव ०८ प्रतिशतले बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंकनोटलाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले नोटमा प्रयोग हुने प्राविधिक विशेषता तथा सुरक्षण प्रविधिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयानुकूल अद्यावधिक र परिमार्जन गर्दै आएको जनाएको छ।

बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि राष्ट्र बैंकले ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यताको सूचीमा समावेश गरेको छ। यसबाट बैंकनोटको छपाइ तथा आपूर्तिमा प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकको भनाइ छ।

गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौताअनुसार आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएकोमा पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान नोट ढुकुटीमा सुरक्षित राखिएको छ।

त्यसैगरी १०० रुपैयाँ दरका ३० करोड थान बैंकनोट छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौताअनुसार पहिलो र दोस्रो लटअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको राष्ट्र बैंकले जनाएको छ।

५०० रुपैयाँ दरका २३ करोड थान बैंकनोटमध्ये करार सम्झौताअनुसार पहिलो लटमा १२ करोड थान आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ।

यसैगरी ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि राष्ट्र बैंकले करार सम्झौता गरेको छ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विभिन्न दरका नयाँ बैंकनोटको मौज्दात ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबर पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर मात्र थियो।

यस हिसाबले एक वर्षमै राष्ट्र बैंकसँग रहेको नयाँ नोटको मौज्दात उल्लेख्य रूपमा बढेको देखिन्छ। एकातर्फ चलनचल्तीमा रहेका पुराना र प्रयोग गर्न अयोग्य नोटलाई ठूलो परिमाणमा नष्ट गरिएको छ भने अर्कोतर्फ बजारको माग व्यवस्थापन गर्न नयाँ नोटको भण्डारणसमेत बढाइएको राष्ट्र बैंकको विवरणले देखाउँछ।

 

 

प्रकाशित मिति : बुधबार, मंसिर ०२, २०८३ | १५:१५:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया