बंगलादेश बेच्ने बिजुलीको मूल्य प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा, भारत सरह


काठमाडौं - नेपालले बंगलादेशलाई एक युनिट बिजुली ८ रुपैयाँ ७२ पैसामा बेच्न प्रस्ताव गरेको छ । यो दर भारतलाई बिक्री गरेको औसत सरह हो । बंगलादेशले भारतीय विद्युत् प्रणाली हुँदै नेपालबाट ४० मेगावाट बिजुली लिने सहमति भएपछि उसले कारोबार हुने दर प्रस्ताव गर्न आग्रह गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच त्रिपक्षीय विद्युत् खरिद सम्झौता (पीपीए) को मस्यौदामा सहमति जुटिसकेको छ । पीपीएको उक्त मस्यौदालाई इमेलबाट सबैले सहमति जनाएको तर हस्ताक्षर हुन बाँकी रहेको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
गत नोभेम्बर (२०२३) बंगलादेशको अर्थमन्त्री अध्यक्ष रहने मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले नेपालबाट बिजुली आयात गर्नेबारे छिट्टै निर्णय लिने ढाकास्थित नेपाली दूतावासले ऊर्जा मन्त्रालयलाई पत्र लेखी जानकारी गराएको थियो ।
नेपाली दूतावासले बंगलादेशको वरिष्ठ सचिवलाई उद्धृत गर्दै गत नोभेम्बरको पहिलो साता ऊर्जा मन्त्रालयलाई जानकारी गराएको हो । दूतावासको पत्रानुसार नै नेपाल विद्युत् प्राधिकरणले आफ्ना अधिकारी पठाएर गत डिसेम्बरमा बिड डकुमेन्ट बंगलादेशमा पेश गरेको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
प्राधिकरणका सम्बद्ध अधिकारी ढाका गएर उक्त टेण्डर दर्ता गराएर फर्केका थिए । सोही टेण्डरमा प्राधिकरणले बंगलादेशलाई प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (अमेरिकी डलरमा ६.७ सेन्ट्स) पेश गरेको स्रोतले जानकारी दियो ।
यो वर्षको जेठ २० देखि मंसिरसम्म प्राधिकरणले भारतको ऊर्जा विनिमय (आईईएक्स) मा एक अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली बिक्री गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बित्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा थियो । प्राधिकरणले यो वर्ष भारतलाई १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको बिजुली निर्यात गरेको थियो ।
मन्त्रालयले भने यो दरलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यो दरलाई भारतीय रुपैयामा परिवत्र्य गरी हेर्दा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसा पर्न पाउँछ ।
नेपाल र बंगलादेशबीच कारोबार हुने ४० मेगावाट बिजुलीको भाउ (विद्युत खरिद सम्झौता) दर तय गर्न दुई देशका अधिकारीबीच बंगलादेशको राजधानी ढाकामा बैठक बस्ने भएको छ ।
बैठकमा सहभागी हुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आगामी बुधबार ढाका प्रस्थान गर्ने भएका छन् ।
नेपाल र बंगलादेशबीच पीपीएमा हस्ताक्षर भएमा आगामी वर्षायामदेखि नेपालले भारतको बहरामपुर र बंगलादेशको भेरमारा प्रसारण लाइनमार्फत ४० मेगावाट बिजुली निर्यात हुनेछ ।
बंगलादेशसँग हुने बिजुली कारोबारमा पनि भारतीय एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगममार्फत हुनेछ । हाल नेपाल र भारतबीच पनि बिजुलीको कारोबार एनटीपीसीमार्फत नै हुँदै आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच