जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेश मुख्य उपलब्धि

जलसरोकार
बुधबार, कात्तिक ०७, २०८१ | १३:०७:३२ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अघिल्लो सरकारले तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना’ तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेश गरिएकोलाई सरकारको सय दिनका मुख्य उपलब्धिको रुपमा लिएको छ ।
सरकारको सय दिन अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री दीपक खड्काले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त कार्ययोजना मन्त्रिपरिषद्‌मा पेश हुनुलाई आफ्नो मन्त्रालयको मुख्य उपलब्धिको रुपमा उल्लेख गरेका हुन् ।
अघिल्ला ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले गत भदौ २०८० मा तयार पारेको उक्त कार्ययोजनालाई वर्तमान ऊर्जा मन्त्री खड्काले परिमार्जन गरी पेश गरेका छन् । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ नाम दिइएको उक्त कार्ययोजनाको अघिल्लो नाम ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८०’ थियो ।
४६.६ अर्ब अमेरिकी डलर खर्च लाग्ने उक्त कार्ययोजनाले आगामी सन् २०३५ सम्म देशको कुल विद्युत् जडित क्षमता २८ हजार ५ सय मेगावाट हुने उल्लेख छ । १३ हजार पाँच सय मेगावाट आन्तरिक खपत हुने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य रहेको उक्त कार्यायोजना कार्यान्वयनका लागि आर्थिक स्रोतको भने सुनिश्चितता छैन ।
यसैगरी ऊर्जा मन्त्रालयको सय दिने उपलब्धिका रुपमा जलस्रोत र सिंचाई क्षेत्रमा अध्ययन, अनुसन्धान कार्याको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष पेश भएको उल्लेख छ । 
नेपाल सरकारले तीन वर्षअघिदेखि थालनी गरेको बंगलादेश बिजुली निर्यात सहमतिलाई पनि ऊर्जा मन्त्रालयले आफ्नो उपलब्धिको रुपमा उल्लेख गरेको छ । 
गत असोज १७ गत नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगमबीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो । 
यसैगरी ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट २ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ३० मेगावाट (चौबीसै घण्टा) विद्युत् आयात गर्ने गरी प्राधिकरण र भारतको एनभीभीएनबचि सम्झौतामा हस्ताक्षर भएकोलाई पनि मन्त्रालयले उपलब्धि मानेको छ । 
मन्त्रालयले हासिल गरेको अर्काे उपलब्धिमा ‘२२०/१३२/३३ केभी चिलिमे हब जीआईएस सवस्टेशन र २२०/१३२/३३ केभी त्रिशुली हव हाइब्रीड जीआईएस सवस्टेशन गरी दुई वटा सवस्टेशनहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको’ छ । 
पत्रकार सम्मेलनमा वितरित मुख्य मुख्य उपलब्धि समेटिएको विज्ञप्तिअनुसार मध्य भोटेकोसी जलविद्युत् आयोजनाबाट बाह«बिसे सवस्टेशनसम्मको चार किलोमिटर २२० केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । 
यसैगरी ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केबर–लोहारपट्टि १३२ केभी प्रसारण लाइन एवं १३२/२२/११ केभी सवस्टेशन (जम्मा ८२.५ एमभीए) निर्माण सम्पन्न भई सञ्चालनमा आएको पनि मन्त्रालयको अर्को उपलब्धि हो । 
मन्त्रालयको अर्काे उपलब्धिमा ‘चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन (२८.१ किमि, डबल सर्किट/मल्टि सर्किट) को निर्माण कार्य लगभग सम्पन्न भएको’ छ । 
 

 

प्रकाशित मिति : बुधबार, कात्तिक ०७, २०८१ | १३:०७:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया