ठूलोखोला जलविद्युत् आयोजनाको हेडटेष्ट र विद्युतगृह जोड्ने सुरुङको काम सम्पन्न
जलसरोकार
काठमाडौं– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न हेडटेष्ट आउटलेटतर्फ खनिएको एक सय तीन मिटर लामो ठाडो सुरुङ र विद्युत्गृहतर्फबाट खनिएको चार सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए।
संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ गत मङ्सिरमा नै जोडिएको थियो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए ।
‘निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, सुरुङमार्गलाई फिनिसिङ गर्ने काम सुरु भइसकेको छ, विद्युतगृह र बाँधतर्फको काम पनि तीव्रगतिमा छ, आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ’, आयोजना प्रमुख हमालले भने । सो आयोजनाको विद्युत्गृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने हेडबक्सतर्फ ७० प्रतिशत काम सकिएको छ ।
आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको आयोजना प्रमुख हमालले बताए। रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने सो आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । सो आयोजना सम्पन्न गर्न रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अलपत्र जलविद्युत् आयोजनाको वर्गीकरण गरिने, आरसीओडी थप्न गर्ने सरकारको तयारी
-
घरजग्गा कारोबारबाट असारमा झण्डै १२ अर्ब राजस्व, आव २०८२/८३ कै उच्च सङ्कलन
-
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवन राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा वृद्धि
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा रु १,९०० महँगियो
-
अविरल वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रूपमा अवरुद्ध