जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशको विद्युत् जडित क्षमता ३ हजार एक सय ५७ मेगावाट

जलसरोकार
शुक्रबार, साउन २५, २०८१ | १७:५७:४४ बजे

काठमाडौं : देशको विद्युत् जडित क्षमता ३ हजार एक सय ५७ मेगावाट पुगेको छ । 
विद्युत् प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत आयोजनाहरु गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको हो ।
विगत आठ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १७०६ मेगावाट थप भएको जानकारी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिए ।
उनका अनुसार जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास उर्जा ६ मेगावाट छ । 
‘आठ वर्षअघिसम्म विभिन्न कारणले ठप्प रहेको निजी क्षेत्रका विद्युत आयोजनाहरुसँगको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)लाई खुल्ला गरी जलाशययुक्त, पिकिङ रन अफ रिभर, रन अफ द रिभर र सौर्य ऊर्जाका लागि छुट्टाछुट्टै दर तय गरिएको छ,’ घिसिङले आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘यसबाट नेपालको जलविद्युतमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ ।’
आठ वर्ष अघि २ हजार ८ सय मेगावाटको मात्र विद्युत खरिद सम्झौता गरिएकोमा निजी क्षेत्रका आयोजनाहरुलाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण अहिले १० हजार ३ सय मेगावाट भन्दा बढीको विद्युत खरिद सम्झौता भएको उनको भनाइ थियो ।
‘अबको पाँच वर्षभित्रै अर्थात सन् २०२८/२९ मा नेपालको जडित क्षमता झण्डै १० हजार मेगावाट पुग्ने प्रक्षेपण छ । उपरोक्त लक्ष्य पूरा गर्न करिब ७ हजार मेगावाटका आयोजनाहरु निर्माणका विभिन्न चरणमा छन्,’ उनले भने, ‘थप करिब १० हजार मेगावाटका आयोजनाहरु विद्युत खरिद सम्झौताको प्रक्रियामा छन् । सौर्य विद्युत उत्पादनलाई प्राथमिकतामा राखी प्राधिकरणले थप ८०० मेगावाट सौर्य विद्युतको पिपिए गर्न बोलपत्र आव्हान गरेको छ ।’
आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र होइन, विद्युत उत्पादनमा पनि लगानी बढाएको घिसिङको कथन थियो । 
प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरु निर्माणाधीन छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरु सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत कम्पनीले करिव ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरु अगाडि बढाएको छ । 
४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । ‘यी दुबै आयोजनाहरुको निर्माण पूर्वका तयारीका कार्यहरु भइरहेका छन्,’ उनले भने ।  
६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई भने नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको छ । त्यस्तै दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ । 
दैनिक माग र आपूर्ति बीचको उतारचडावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिव ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत आयोजनाहरुको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २५, २०८१ | १७:५७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया