नयाँ सोच र नयाँ नेतृत्वसहित देश अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।
उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।
निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने उल्लेख गर्दै मन्त्री घिसिङले सबै नागरिक सचेत र सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिए । “अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,” उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ, र त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”
उज्यालो नेपाल पार्टीले देशभर सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै उनले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा फैलिँदै गएको बताए । “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ,” उनले भने ।
कार्यक्रममा मन्त्री घिसिङले राजनीतिक एकताको विषयमा पनि धारणा राख्नुभयो । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै उनले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । “एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,” उनले भने, “सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”
जनताको चाहना नयाँ राजनीतिक शक्तिहरू एकजुट भएको हेर्न चाहने रहेको उल्लेख गर्दै उनले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुन नयाँ शक्तिहरूलाई आह्वान गरे ।
उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै मन्त्री घिसिङले ‘उज्यालो’ को अनुभूतिलाई गाउँ–गाउँसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए । “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,” उनले भने ।
मन्त्री घिसिङले जनतामाझ उज्यालो नेपाल पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गर्दै सो विश्वासलाई अझ बलियो बनाउँदै दृढताका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद