जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता अब ११ सय मेगावाट

१६ औं जेटीटी बैठक पूर्ण रुपमा सफल

जलसरोकार
बुधबार, माघ ०९, २०८१ | १२:३७:०३ बजे

काठमाडौं : ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनको आयात-निर्यात क्षमता ११ सय मेगावाट पुर्‍याउने सहमति भएको छ । 
नेपाल-भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को नयाँ दिल्लीमा भएको १६ औं बैठकमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको विद्यमान क्षमता ८ सय मेगावाटबाट एक हजार मेगावाट पुर्‍याउने सहमति गरेको हो । 
अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलजले ढल्केबर-सीतामढी ४०० केभीको लाइन निर्माण सम्पन्न गरेपछि नेपालले ढल्केबर-मुजफ्फपुरबाट ११ सय मेगावाट निर्यात गर्न पाउने गरी सहमति भएको बैठकमा नेपाली पक्षका एक सदस्यले जलसरोकारलाई जानकारी दिए ।
सतलजले अब १.६ किलोमिटर मात्र तार तान्न बाँकी छ । सतलजको कार्य पूरा भएपछि नेपालले निर्यात गर्न पाउने क्षमता ११ सय मेगावाट हुनेछ । 
४०० केभी डब्बल सर्किटको यो प्रसारण लाइनको प्राविधिक क्षमता २ हजार मेगावाट हो । तर भारतले ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमा ‘एन माइनस वान’ लगाएको छ । एउटा बिग्रेमा अर्काेबाट चलाउने भन्दै क्षमता खुम्चाइएको छ । यो प्रसारण लाइन उपयोग गरेबापत नेपालले भारतलाई वार्षिक एक अर्ब रुपैयाँ तिर्नु पर्छ ।
यो प्रसारण लाइनको क्षमता अबदेखि एक हजार मेगावाट भए पनि भारतले यतिबेला साँझ र राति (पिक) को लागि नेपाललाई आवश्यक पर्ने बिजुली दिएको छैन । 
झन्डै ४ लाख मेगावाट जडित क्षमता भएको भारतले नेपाललाई पिक समयको बिजुली आफैले नपुग्ने कारण देखाएर नदिएको हो । तर प्राविधिक कारणभन्दा पनि राजनीतिक कारणले भारतले बिजुली नदिएको नेपालमा बुझाई छ । 
जेटीटीको उक्त १६ औं बैठकले चमेलिया-जौलीजीवी २०० केभी प्रसारण लाइनको अध्ययन र त्यसलाई कार्यान्वयन गर्ने सहमति पनि भएको छ । बैठकले ४०० केभीका दुई ठूला प्रसारण लाइन कोहलपुर–लखनउ र हर्नेया-मोतीहारीको पनि नयाँ अध्ययन गर्ने सहमति गरेको छ । 
‘यो बैठक पूर्ण रुपले सफल भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले जलसरोकारसँग भने, ‘धेरै उपलब्धि हासिल भएका छन् ।’
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका थिए भने उनका भारतीय समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणको चिफ इन्जिनियर बीएस बैरवा छन् । 
 

 

प्रकाशित मिति : बुधबार, माघ ०९, २०८१ | १२:३७:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया