जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता एक हजार मेगावाट

जलसरोकार
बिहीबार, साउन १७, २०८१ | १६:३६:३६ बजे
बैठकमा सहभागी नेपाल-भारतका पदाधिकारीहरु । तस्वीर : नेपालको ऊर्जा मन्त्रालय स्राेत ।

काठमाडौं : एकमात्र अन्तर्देशीय सीमापार विद्युत् प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरको क्षमता एक हजार मेगावाट हुने भएको छ ।
केही दिनअघि भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औं बैठकमा भारतले उक्त प्रसारण लाइनको क्षमता आठ सयबाट एक हजार मेगावाट पु¥याउन सहमत भएको हो 
यही जेटीटीको १४ औं बैठकले ढल्केबर–मुजफ्फरपुरको क्षमता ६ सयबाट ८ सय मेगावाट पुर्याएको थियो । 
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणले इनरुवा–ढल्केबरु ४०० केभीमा चार्ज गरेपछि र सतजलले अरुण तेस्रोको बिजुली यही ढल्केबर  सवस्टेशनबाट दिने भएको सन्दर्भमा भारतले उक्त प्रसारण लाइनको क्षमता बढाउन सहमत भएको हो ।
यो प्रसारण लाइनको ४०० केभी डबल सर्किट हो, यसको खास क्षमता २ हजार मेगावाट हो । तर क्षमताअनुसार विद्युत् प्रसारण गर्ने नेपालका आन्तरिक संरचनाहरु तयार नभएका कारण भारतले यसको पूर्ण क्षमतामा सहमति नजनाएको हो । त्यसबाहेक एउटा बन्द भए अर्काेमा चालू राख्ने (एन माइनस वान) भन्दै यसको क्षमता घटाएको हो ।
सतजलले एउटा ट्रान्सफरमर ढल्केबरमा राखी त्यहींबाट बिजुली दिने भएको छ । प्राधिकरणले बनाइरहेको हेटौंडा–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । ‘यो एउटा उपलब्धि हो, अब नेपालले भारतसँग एक हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वाधारमा सहमति भएको छ,’ मन्त्रालयका ती अधिकारीले बिहीबार जलसरोकारसँग भने । 
यसैगरी सोही बैठकले सुदूर पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारत निकासीका लागि चमेलिया (नेपाल) – जलजीवी (भारत) २८ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन निर्माणबारे छलफल भएको ऊर्जाका ती अधिकारीले जानकारी दिए ।
नेपालले टनकपुरबाट निर्यात गर्न चाहेको थियो । तर प्रसारण लाइनको सीमितताका कारण्ढा ८० मेगावाटभन्दा बढी प्रसारण नहुने भएपछि विकल्पका रुपमा चमेलियालाई लिइएको हो । चमेलियाको १३२ केभी सवस्टेशनदेखि भारतको जलजीवी भन्ने ठाउँको ४०० केभी प्रसारण हवमा जोड्ने गरी दुबै पक्षबीच आवश्यक प्राविधिक तथ्यांक आदान–प्रदान र अध्ययन गर्ने विषयमा छलफल भएको हो । 
‘यो प्रसारण लाइन अघि बढाउन भारत सकारात्मक देखियो,’ बैठकमा सहभागी एक अधिकारीले भने,  ‘थप तथ्यांकहरु आदान प्रदान हुँदैछ ।’
हाल प्रस्ताव गरिएको लम्की–बरेली ४०० केभी अन्तर्देशीय सीमापार प्रसारण लाइन बनाउन अझै चार, पाँच वर्ष लाग्ने भएकाले चमेलिया क्षेत्रमा उत्पादन भएका र हुने बिजुली खेर जान नदिन मन्त्रालय र प्राधिकरणले विकल्पबारे छलफल गर्दै आएका थिए । 
‘यसलाई अगाडि बढाउने दिशामा भारत सकारात्मक भयो र थप तथ्यांकहरु आदान प्रदान हुँदैछ । लम्की बरेली ४०० केभी प्रसारण लाइन बनाउन चार, पाँच वर्ष लाग्ला, चमेलिया क्षेत्रका बिजुली पूर्व पनि आउँदैन र खेर जान्छ,’ उनले भने, ‘हामीले प्रस्ताव ग¥र्याैं । चमेलिया १३२ केभीबाट जलजीवीको ४०० केभी सवस्टेशन हबमा बिजुली पुर्याउने । लाइन चाहिं नेपालल २२० केभीको बनाउनेछ स्टेप अप गरेर ।’
चमेलियाबाट पश्चिमतर्फको विद्युत्. निर्यात गर्नका लागि थप बिजुली निर्यात गर्न प्रसारण लाइनको सीमितताका कारण सम्भावना देखिएन । टोली पठाएर अध्ययन भएको थियो । नदेखेपछि चमेलियाबाट जलजीवी भन्ने भारतको ठाउँमा ४०० केभीको सवस्टेशनबाट बिजुली । चमेलियाबाट करिब २८ किलोमिटर छ । २२० केभी प्रसारण लाइन बनाउन सकिने सम्भावनाका बारेमा छलफल भयो । 
बैठकमा थप तीनवटा ४०० केभीका अन्तर्देशीय प्रसारण लाइन बनाउनेबारे पनि छलफल भएको छ । पछिल्लोपटक ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) मा भएको छलफल अनुसार अनारमणि–किसनगञ्ज, निजगढ–मोतीहारी र लमही–लखनऊ ४०० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
‘यी लाइनहरु आगामी सन् २०३० पछिको सम्भाव्य आयोजनाको रुपमा अघि बढाउन खोजिएको हो,’ ती अधिकारीले भने, ‘सन् २०२८–२९ मा लम्की–बरेली ४०० केभी प्रसारण लाइन आइसक्छ र त्यसपछि पनि यस्ता लाइन आवश्यक पर्ने भएको हुँदा अहिलेदेखि नै तयारी थालिएको हो ।
भारतले दस वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने सम्झौता भइसकेको छ भने नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरी १३ हजार भारत निर्यात गर्ने तयारी गरेको छ । यसको औपचारिक घोषणा भने भइसकेको छैन । 
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका थिए । भारतीय टोलीनको नेतृत्व केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर डीएस पैरवाले गरेका थिए ।
वार्ता टोलीमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ, विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाल,  प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोष, प्रणाली योजनाका मनिर तिवारी र रिशेष अमात्य सहभागी थिए । 
 

 

प्रकाशित मिति : बिहीबार, साउन १७, २०८१ | १६:३६:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया