टक्सार पिखुवा खोला हाइड्रोपावरले आजदेखि आईपीओ बिक्री खुला गर्दै
जलसरोकार
काठमाडौँ : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते)देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। त्यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने म्याद छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म रहनेछ।
कम्पनीको आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी प्लस (इस्यूअर)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ। परियोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष र डिस्काउन्ट दरमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको बताइएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिक्री प्रबन्धकको कार्यालयका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्