‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन’
जलसरोकार
काठमाडौँ – विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल पूर्वाधार पत्रकार समाज (सिज)सँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले विदेशी लगानीका आयोजनामा नेपालका बैंकले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा परेको बताएका हुन्।
उनले विदेशी परियोजनामा पुँजी पनि विदेशबाटै ल्याउनुपर्ने धारणा राखे । “बैंकहरूले निश्चित सीमामा रहेर ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरेका हुन्छन्, यस्तोमा त्यो लगानी विदेशी लगानीका आयोजनामा जाने हो भने निजी क्षेत्रका परियोजनाले कर्जा नै नपाउने अवस्था रहन्छ । त्यसैले विदेशी लगानीमा निर्माण हुने आयोजनामा पुँजी पनि विदेशबाट ल्याउनुपर्छ”, अध्यक्ष कार्कीले भने ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक केदारराज सिल्वालले जलविद्युत् आयोजना निर्माणसँगै प्रसारण लाइन पनि निर्माण जरुरी रहेको बताए । उनले हाल कूल १२ हजार चार सय ४६ मेगाभोल्ट एम्पायर ऊर्जा बहन क्षमताको प्रसारण लाइन निर्माण भइसकेको उल्लेख गर्दै सन् २०३० मा सो क्षमता ३५ हजार छ सय ७५ मेगाभोल्ट एम्पायर पुग्ने गरी प्रसारण लाइन निर्माण भइसक्ने बताए ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले संविधानमै जलविद्युत् आयोजनाको क्षेत्राधिकार कुन तहसम्म हुने भन्ने स्पष्ट नभएको धारणा राखे । उनले प्रस्तावित विद्युत् विधेयक निजी क्षेत्र मैत्री नभएको भन्दै विभिन्न बुँदामा संशोधन आवश्यक भएको उल्लेख गरे ।
उपमहासचिव दुलालले उक्त मस्यौदामा सरकारी आयोजनाले प्रतिस्पर्धा गर्न नपर्ने र निजी लगानीका आयोजनालाई मात्रै प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निजी लगानीमैत्री नभएको बताए । बिजुली सस्तो बनाएर रोजगारी सृजना गर्नुपर्नेमा महङ्गो बनाएर राजस्व सङ्कलन गर्ने सरकारको नीति सही नभएको उनको जिकिर थियो ।
इन्जिनियर मणिराज दाहालले नेपालमा जलविद्युत् आयोजनाको सम्भावना, लगत र प्राविधिक विषयमा चर्चा गरे । उनले नेपालको भौगोलिक अवस्थामा जलविद्युत् परियोजनाको सम्भावनाबारे पनि बताए ।
इप्पान कार्यसमिति सदस्य सुमन जोशीले सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने योजना अघि सारेको भन्दै त्यसका लागि ६० खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक भएको बताइन् । उनले हाल बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा ३ खर्ब ५१ अर्ब रुपैयाँ लगानी गरेको र यो कूल कर्जाको ७।१ प्रतिशतमात्र भएकाले लगानी बढाउन आवश्यक रहेको धारणा राखिन् ।
जोशीका अनुसार बैंक तथा वित्तीय संस्थाले गरेको कर्जाको प्रतिबद्धता भने ५ खर्ब ३६ अर्ब रुपैयाँ छ । निजी क्षेत्रले ऊर्जा क्षेत्रमा लगानी गर्ने होभने विदेशी लगानीका आयोजनामा स्वदेशी बैंकले लगानी गर्न नहुने जोशीको भनाइ छ ।
इप्पानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भीम गौतमले ऊर्जा क्षेत्रसँग सम्बन्धित पत्रकारिता गर्दा ध्यान दिनुपर्ने प्राविधिक र सैद्धान्तिक विषयबारे उपस्थित पत्रकारलाई जानकारी गराए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुधबार सेयर बजार १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्दै ४ अर्ब ६८ करोडमा सीमित
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सक्रियता
-
ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया, आईटी क्षेत्रमा कर्जा र नवीन बैंकिङ सेवाबारे छलफल
-
नेपाल चेम्बर अफ कमर्स र विश्व बैंकबीच निजी क्षेत्र र लगानीका अवसरबारे उच्चस्तरीय छलफल
-
नेपालको दिगो पूर्वाधार र विपद् जोखिम व्यवस्थापन सुदृढ गर्न एडीबी, विश्व बैंक र स्विट्जरल्यान्डबीच साझेदारी
-
बूढीगण्डकी लगानी मोडालिटी तत्काल टुङगो लगाऔं : मन्त्री कुलमान घिसिङ