सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौँ : सुपर खुदी हाइड्रोपावर लिमिटेड ले आज (फागुन ५ गते, मंगलबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई समेत छुट्याइएको कम्पनीले जनाएको छ।
अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रवद्र्धन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २७ वर्ष ५ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.४२ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?