सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन

जलसरोकार
सोमबार, पुस ०७, २०८२ | १६:४८:१९ बजे

 

रामेछाप : राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणका क्रममा खपत गरिएको विद्युत्‌को महसुल नतिरेपछि निर्माण व्यवसायी पटेल-रमण जेभीको विद्युत् लाइन काटिएको छ ।

नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका अनुसार निर्माण व्यवसायीको नाममा करिब १ करोड ११ लाख रुपैयाँ विद्युत महसुल बक्यौता रहेको छ । पटक-पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा समेत रकम नतिरेकाले नियमानुसार विद्युत् आपूर्ति बन्द गरिएको वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार आयोजना स्थलमा निर्माण सामग्री उत्पादन, कार्यालय सञ्चालन तथा उपकरण प्रयोगका लागि उच्च परिमाणमा विद्युत् प्रयोग गरिएको थियो । तर लामो समयसम्म महसुल भुक्तानी नगरिँदा बक्यौता रकम बढ्दै गएको थियो । सार्वजनिक निकायको सेवा प्रयोग गरेर महसुल नतिर्नु कानुनी तथा आर्थिक अनुशासनविपरीत हुने भएकाले बाध्य भएर लाइन काट्नुपरेको वितरण केन्द्रले जनाएको छ ।

यसअघि नै आयोजनाले कमजोर प्रगति र सम्झौताअनुसार काम नगरेको ठहर गर्दै पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता रद्द गरिसकेको छ । ठेक्का रद्द भएसँगै निर्माण व्यवसायीले प्रयोग गर्दै आएका उपकरण, साइट कार्यालय र निर्माण क्षेत्र आयोजनाको नियन्त्रणमा लिइएको छ ।

सुनकोशी-मरिण डाइभर्सन आयोजनालाई देशकै रूपान्तरणकारी र बहुउद्देश्यीय आयोजनाका रूपमा लिइएको छ । यस आयोजनाबाट मधेश प्रदेशका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टरभन्दा बढी जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ । यति ठूलो राष्ट्रिय महत्त्वको आयोजनामा ठेकेदारको लापरबाही र आर्थिक अनुशासनहीनताले निर्माण कार्य प्रभावित भएको सरोकारवालाको भनाइ छ ।

हाल आयोजनाले ठेक्का तोडिएपछिको काम, बाँकी संरचना, उपकरण र थप गर्नुपर्ने कार्यको मूल्यांकन गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले दुई महिनाभित्र मूल्याङ्कन सकी नयाँ टेण्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

प्रकाशित मिति : सोमबार, पुस ०७, २०८२ | १६:४८:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया