दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने
जलसरोकार
काठमाडौँ: दुर्गम गाउँलाई उज्यालो बनाउने उद्देश्यले ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सञ्चालन गरिएको छ । नेपालस्थित चिनियाँ दूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा परियोजना सुरु गरिएको हो । दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ । परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपालाञ्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरिएको छ । यसबाट गाउँलेको रात्रिकालीन जीवनलाई सहज बनाउनाका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ । सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे । अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने उनले उल्लेख गरे ।
नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नाका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताए ।
“गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले समस्या बढाएको छ, जसले प्रकाशको आवश्यकतालाई झनै महत्वपूर्ण बनाएको छ । यसपटक प्रदान गरिएका सौर्य बत्तीले यी गाउँमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन्, जसले रातिको जीवनलाई सहज बनाउनाका साथै बालबालिकालाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ”, परियोजनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन र सङ्कटमा परेकालाई सहयोग गर्न निरन्तर काम गर्ने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्