स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ खुलाउने
जलसरोकार
काठमाडौँ : स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै चैत ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले कुल जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो।
यस योजनाअनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरिनेछ। प्रभावित क्षेत्रअन्तर्गत ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकृत गरी त्यहाँका बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ। त्यस्तै सिरिजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिकाका वडा नं. ५ र ६, पाथिभरा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का बासिन्दाका लागि पनि समान ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
कम्पनीले सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरको १० प्रतिशत बराबर ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि उपलब्ध गराउने भएको छ। श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त शेयरमा आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत २३ गते बन्द हुनेछ र आवश्यक माग नपुगेमा ढिलोमा २०८३ वैशाख ८ गतेसम्म खुला रहनेछ। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म रहनेछ।
आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ स्तरको इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्नो रिभर्स लिमिटेडले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। करिब २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्षभन्दा बढी बाँकी रहेको कम्पनीले जनाएको छ। परियोजनाबाट लगानी फिर्ता हुने साधारण अवधि ८.१७ वर्ष रहेको छ भने छुट दरमा गणना गर्दा १५.७७ वर्ष लाग्ने अनुमान गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजना स्थल याम्फुदिन, नेपाल बैंकको सिरिजङ्गा शाखा, एनएमबी बैंक, सानिमा बैंक तथा ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम लिनका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सी–आस्वा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ खुलाउने
-
याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ देखि आईपीओ निष्काशन गर्ने
-
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
-
२१ दिनपछि पुनः सञ्चालनमा मर्स्याङ्दी जलविद्युत् केन्द्र
-
आइतबारसम्म देशका धेरै भू-भागमा तुवाँलो, दुई दिनपछि मौसममा केही सुधार हुने सम्भावना
-
नयाँ सरकारको बाटो: ऊर्जा, उद्योग र रोजगारी