सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नाफामा उल्लेख्य सुधारसहित शुभम् पावरको वित्तीय अवस्था सुदृढ,विद्युत् बिक्रीबाट मात्रै १ करोड बढीकाे आम्दानी

जलसरोकार
बुधबार, फागुन १३, २०८२ | १०:१८:११ बजे

 

काठमाडौं : शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुष मसान्त, १४ जनवरी २०२६) सम्मको अपरिक्षित वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कम्पनीको आम्दानी र नाफामा उल्लेख्य सुधार देखाउँदै वित्तीय अवस्था सुदृढ हुँदै गएको संकेत गरेको छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो त्रैमासको ६२ लाख ३२ हजार रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३० लाख २३ हजार रुपैयाँ बराबरको विद्युत् बिक्री आम्दानी गरेको थियो। परियोजना खर्च कटाएपछि कम्पनीको ग्रस प्रोफिट १ करोड ८४ हजार ४५५ रुपैयाँ पुगेको छ।

कम्पनीले गैर सञ्चालन आम्दानीतर्फ ८६ लाख रुपैयाँ आर्जन गरेको छ, जसले सञ्चालन नाफामा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। प्रशासनिक खर्च ८ लाख ४३ हजार रुपैयाँ कायम रहँदा सञ्चालन नाफा १ करोड ८६ लाख ४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा सञ्चालन नाफा १ करोड ३९ लाख २१ हजार रुपैयाँ रहेको थियो भने अघिल्लो वर्षको सोही अवधिमा १ करोड ८ हजार रुपैयाँ मात्रै थियो।

वित्तीय खर्चतर्फ १३ लाख २९ हजार रुपैयाँ र ह्रासकट्टी २७ लाख ९५ हजार रुपैयाँ व्यहोरेपछि कम्पनीको कर अघिको नाफा १ करोड ४४ लाख ७९ हजार रुपैयाँ पुगेको छ। कर्मचारी बोनस र कर व्यवस्था पश्चात कम्पनीले समीक्षा अवधिमा १ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४६ लाख ३२ हजार रुपैयाँ मात्रै थियो। यसले कम्पनीको नाफा वृद्धिदरमा उल्लेख्य सुधार भएको देखाउँछ।

वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल सम्पत्ति २४ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसमध्ये २० करोड ४९ लाख रुपैयाँ गैर–चल सम्पत्तिमा केन्द्रित रहेको छ। चालु सम्पत्ति ४ करोड २६ लाख रुपैयाँ रहेको छ, जसमा व्यापारिक प्राप्ति १ करोड २१ लाख रुपैयाँ, अग्रिम तथा निक्षेप २ करोड ९ लाख रुपैयाँ र नगद मौज्दात १४ लाख रुपैयाँ समावेश छन्।

कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संचित मुनाफा २४ लाख ६ हजार रुपैयाँ पुगेको छ, जसका आधारमा कुल इक्विटी २० करोड २४ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी संचित नोक्सानीमा रहेको थियो, जसले यस वर्षको सुधारलाई थप अर्थपूर्ण बनाएको छ।

दायित्वतर्फ कम्पनीको कुल गैर–चल दायित्व ३ करोड ७ लाख रुपैयाँ रहेको छ, जसमा सुरक्षित बैंक ऋण २ करोड ८६ लाख रुपैयाँ र करसम्बन्धी प्रावधान समावेश छन्। चालु दायित्व १ करोड ४३ लाख रुपैयाँ रहेको छ। कम्पनीले छोटो अवधिको ऋण घटाउँदै वित्तीय दायित्व व्यवस्थापनमा सुधार गरेको देखिन्छ।

प्रति शेयर सूचकांकअनुसार वार्षिकीकृत प्रति शेयर आम्दानी ६ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात ९८.०३ गुणा रहेको विवरणमा उल्लेख छ, जसले बजार मूल्यको तुलनामा आम्दानी अनुपात उच्च रहेको संकेत गर्दछ।

शुभम् पावर लिमिटेड साना जलविद्युत् आयोजनामा संलग्न कम्पनी हो। हाल सञ्चालनमा रहेको आयोजनाबाट नियमित आम्दानी प्राप्त भइरहेकाले कम्पनीको नगद प्रवाहमा सुधार आएको देखिन्छ। आगामी अवधिमा उत्पादन स्थायित्व, खर्च नियन्त्रण तथा वित्तीय दायित्व व्यवस्थापनलाई निरन्तर सुदृढ राख्न सके कम्पनीको नाफा थप मजबुत बन्ने अपेक्षा गरिएको छ।

समग्रमा दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले शुभम् पावरको नाफा, इक्विटी र दायित्व संरचनामा सुधार देखाउँदै कम्पनी क्रमशः स्थायित्वतर्फ उन्मुख रहेको संकेत गरेको छ। ऊर्जा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र नियामकीय व्यवस्थाबीच कम्पनीले वित्तीय अनुशासन कायम राख्न सके दीर्घकालीन रूपमा लगानीकर्ताका लागि सकारात्मक प्रतिफल दिन सक्ने आधार देखिएको छ।

 

प्रकाशित मिति : बुधबार, फागुन १३, २०८२ | १०:१८:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया