शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २९.०८ वर्ष बाँकी रहेको छ।
उक्त आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता